वीरगञ्ज, २९ पुस। खेलकूद तथा समाज कल्याण मन्त्री ई. बसन्त कुशवाहाको अध्यक्षतामा मधेश प्रदेश खेलकूद परिषद्को तेस्रो बैठक आज सम्पन्न भएको छ। बैठकले प्रदेशस्तरमा खेलकूदको विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजनालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले मधेश प्रीमियर लिग (MPL) २०८२ सालको चैत्र महिनामा आयोजना गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै मधेश प्रदेशमा प्रतिस्पर्धात्मक खेलकूद संस्कृतिलाई थप सुदृढ बनाउने लक्ष्य लिइएको मन्त्री कुशवाहाले बताउनुभयो। साथै, प्रदेशभर सञ्चालन हुने खेलकूद गतिविधिलाई व्यवस्थित बनाउन खेलकूदसम्बन्धी वार्षिक क्यालेन्डर तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी, प्रदेशमा सञ्चालन हुने सम्पूर्ण खेलकूद प्रतियोगिताका लागि खेलस्थल छनोट, निर्माण तथा मापदण्ड निर्धारण गर्ने निर्णय गरिएको छ। खेलकूद जनशक्तिको विकासका लागि खेलकूद स्वयंसेवकहरूको रोस्टर तयार गरी सामुदायिक विद्यालयहरूमा प्रशिक्षकको जिम्मेवारी दिने पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकूद प्रतियोगितामा मधेश प्रदेशको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ। साथै, ११औँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०८३ सालको फागुन महिनामा मधेश प्रदेशमै आयोजना गर्न आवश्यक पहल र पूर्वाधार निर्माण कार्य अघि बढाउने निर्णय पनि गरिएको छ।
यसका अतिरिक्त, प्रदेशभित्र क्रियाशील खेलकूद संघ–संस्थाहरूलाई व्यवस्थित गर्न दर्ता प्रक्रिया सुरु गर्ने निर्णयसमेत बैठकले गरेको छ। परिषद्का यी निर्णयहरूले मधेश प्रदेशमा खेलकूद क्षेत्रको संस्थागत विकास, खेलाडी उत्पादन तथा राष्ट्रियस्तरमा प्रदेशको पहिचान थप मजबुत हुने अपेक्षा गरिएको छ।


