वीरगञ्ज, २९ पुस। बाराको सिम्रौनगढ नगरपालिकामा उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत विरबहादुर साह लहेरामाथि कार्यकक्षमै अभद्र व्यवहार तथा हातपात गरेको आरोपपछि नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह अनिश्चितकालका लागि ठप्प भएको छ।
सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सिम्रौनगढ नगरपालिका कर्मचारी परिवारले कार्यालय परिसरभित्रै भएको उक्त घटनाको घोर भर्त्सना गर्दै सुरक्षा ग्यारेन्टी नभएसम्म कामकाजमा नखटिने घोषणा गरेका हुन्।
कर्मचारीहरूका अनुसार विशेष नगरसभाको विषयलाई लिएर उत्पन्न विवादका क्रममा उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि जोरजबरदस्ती, गालीगलौज तथा दुव्र्यवहार गरेकी थिइन्। यस घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको गरिमा, मर्यादा र सुरक्षामाथि गम्भीर आघात पुगेको कर्मचारी परिवारको ठहर छ।
घटनापछि कर्मचारीहरूले आफ्नो सुरक्षा र सम्मान सुनिश्चित नहुन्जेलसम्म नगरपालिकाका सम्पूर्ण शाखा तथा मातहतका कार्यालयहरूको सेवा स्थगित गरेका छन्। विज्ञप्तिअनुसार शिक्षण संस्था तथा अत्यावश्यक सेवा बाहेकका सबै कामकाज अर्को आदेश नभएसम्म अनिश्चितकालका लागि बन्द गरिएको छ।
सिम्रौनगढ नगरपालिका कर्मचारी परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। कार्यालय प्रमुख र कर्मचारीमाथि कार्यस्थलमै भएको यस्तो निन्दनीय घटनाले सुरक्षित कार्य वातावरणमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।
नगरपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति कर्मचारी परिवारले क्षमायाचना गर्दै समस्या समाधानका लागि शीघ्र पहल गर्न आग्रहसमेत गरेको छ। यस विषयमा नगर प्रमुख किशोरी साह कलवारसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।



