रमेश कुमार यादव
पुस २९, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले किसानलाई सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा विद्युतिय पोल जडान कार्य सुरु गरेको छ । नगरपालिकाको यो पहलले कृषि उत्पादन वृद्धि गर्ने र किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ । किसानलाई खेतिपाती गर्न कुनै पनि प्रकारको समस्या नहोस् भन्ने उद्देश्यसहित सिँचाइका लागि आवश्यक विद्युत सुविधा पु¥याउन नगरपालिकाले यो कार्यक्रम अघि बढाएको हो । बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीको पहल तथा नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा किसानका खेतसम्म विद्युतिय पोल पु¥याउने काम भइरहेको युवा नेता धर्मेन्द्र पटेलले जानकारी दिनुभयो।
युवा नेता पटेलका अनुसार बृन्दावन नगरपालिकामा पछिल्लो समय विकास निर्माणका कामहरूले तीव्रता लिएका छन् । उहाँले नगर प्रमुख कुर्मी निर्वाचित भएदेखि नै नगरमा विकासको लहर चलेको दाबी गर्नुभयो। “पालिकाको हरेक कुना–काप्चामा पक्की सडक निर्माण गरी आवतजावत सहज बनाइएको छ। साथै शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीको व्यवस्थापनमा पनि उल्लेखनीय प्रगति भएको छ,” पटेलले भन्नुभयो । नेपाल कृषि प्रधान देश भए पनि समयमै सिँचाइको सुविधा नपाउँदा किसानले चाहेजति उत्पादन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
नगर प्रमुख कुर्मीको निर्देशनअनुसार पछिल्लो दुई दिनदेखि विद्युतिय पोल जडानको काम तीव्र रुपमा भइरहेको पटेलले बताउनुभयो। उहाँका अनुसार पहिलो दिन राजेश महतोको घरदेखि गुजरा नगरपालिकाको सिमानासम्म करिब ३५ वटा विद्युतिय पोल जडान गरिएको छ । त्यस्तै दोस्रो दिन निर्माणाधीन कपडा फ्याक्ट्रीदेखि गुजरा नगरपालिकाको सिमानासम्म करिब ३० वटा कृषि प्रयोजनका विद्युतिय पोल जडान गरिएको छ। विद्युतिय पोल जडान कार्य सम्पन्न भएपछि किसानले आवश्यकता अनुसार जुनसुकै समयमा सिँचाइ गर्न सक्नेछन्। यसले तरकारी खेतीसँगै धान, मकै, तोरी, गहुँलगायत अन्य बाली उत्पादनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
हाल यस क्षेत्रका किसान परम्परागत रूपमा आफूलाई खान पुग्ने मात्र अन्न उत्पादन गर्दै आएका भए पनि अब व्यावसायिक तरकारी खेती तथा अन्य बाली विस्तारतर्फ आकर्षित हुने विश्वास गरिएको छ । नगर प्रमुख बिनोद प्रसाद कुर्मीको यो पहललाई स्थानीयवासी तथा किसानहरूले सराहनीय कदमका रूपमा लिएका छन्। चौतर्फी प्रशंसा बटुलिरहेको यो कार्यक्रमले कृषि क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। यता नगर प्रमुख कुर्मीसँग संक्षिप्त कुराकानी गर्दा उहाँले विद्युतिय पोल जडान कार्य सम्पन्न भएलगत्तै चाँडै नै तार बिछ्याउने काम पनि सुरु गरिने जानकारी सञ्चारकर्मीलाई दिनुभएको छ। यससँगै बृन्दावन नगरपालिकामा आधुनिक र व्यवस्थित सिँचाइ प्रणालीको आधार तयार हुने विश्वास गरिएको छ ।


