रौतहट, ३० पुस। रौतहटको परोहा नगरपालिकामा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँचका क्रममा प्रतिबन्धित लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । परोहा नगरपालिका–७ स्थित बसिर चोकमा सशस्त्र प्रहरी बलको विओपी सरमुजवा र प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ०५ बीएल ८८४६ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलमा सवार बारा निजगढ नगरपालिका–७ निवासी ३० वर्षीय शिखरबहादुर पुलामी र भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको घोडासहान कबैया–६ का २९ वर्षीय गोलु भनिने नैतिक कुमारलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी रवीन कार्कीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल–५० नामक प्रतिबन्धित क्याप्सुल १२६ पत्तामा राखिएको १ हजार २ सय ६० थान, तीन थान मोबाइल फोन, ३६ हजार रुपैयाँ नगद तथा प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदीप वस्यालले पक्राउ परेकामाथि लागुऔषध ओसारपसार सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।


