वीरगञ्ज, ०२ माघ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई उम्मेदवार छनोट गर्न सकस देखिएको छ। पार्टीभित्र जिल्ला तहको सिफारिस र केन्द्रीय तहको दाबीबीच तानातान चुलिँदै गएको छ।
जसपा त्यागेर हालै पुनः जसपा नेपालमा प्रवेश गरेका निवर्तमान सांसद प्रदीप यादवको नाम पर्सा जिल्ला कार्यसमितिबाट सिफारिस सूचीमा परेको छैन। तर उनी पार्टीको केन्द्रीय सदस्यमा समावेश भइसकेकाले पर्सा–१ बाट उम्मेदवार बन्ने प्रबल दाबेदारी रहेको जसपा केन्द्रीय स्रोतले जनाएको छ।
यद्यपि, जिल्ला तहका नेताहरू भने जिल्लाबाट सिफारिस गरिएकाभन्दा बाहिरका व्यक्तिलाई केन्द्रले उम्मेदवार बनाए स्वीकार्य नहुने चेतावनी दिइरहेका छन्। जसपा नेपालको पर्सा जिल्ला कार्यसमितिले पर्सा–१ बाट उम्मेदवारीका लागि पूर्वमुख्यमन्त्री लालबाबु राउत, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवको नाम सिफारिस गरेको छ।
सोही क्षेत्रबाट २०७९ सालको निर्वाचनमा विजयी भएका पूर्वमन्त्री प्रदीप यादव भने पार्टी विभाजनका क्रममा अशोक राई नेतृत्वको जसपामा सामेल भएका थिए। निर्वाचनको पूर्वसन्ध्यामा उनी पुनः जसपा नेपालमा फर्किएका हुन्।
पूर्वमन्त्री यादवले पार्टी एकीकरण भइसकेकाले उम्मेदवार चयन केन्द्रीय समन्वय समितिको जिम्मामा रहेको बताएका छन्। उनले भने, “हिजो दुई वटा पार्टी थिए, दुवैले आ–आफ्नो उम्मेदवार सिफारिस गरेका थिए। अहिले पार्टी एकीकरण भइसकेकाले उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय केन्द्रीय समन्वय समितिले गर्छ।”
जिल्ला सिफारिसकै आधारमा मात्र उम्मेदवार चयन नहुने उनको भनाइ छ। आफू पर्सा–१ बाट उम्मेदवार बन्नेमा विश्वस्त रहेको बताउँदै यादवले भने, “यो क्षेत्रबाट मैले पटक–पटक चुनाव जित्दै आएको छु। जितेको उम्मेदवारलाई पन्छाएर पार्टी अर्को विकल्पमा जान्छ भन्ने मलाई विश्वास छैन।”
उनले पार्टीभित्र उम्मेदवारीका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको भन्दै साना विवाद समाधान गर्दै जसपा नेपाल एक भएर निर्वाचनमा जाने दाबी गरे।
यता जसपा नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले भने जिल्लाबाट सिफारिस गरिएका तीन जनामध्येबाटै उम्मेदवार बन्ने अडान दोहोर्याएका छन्। उनले भने, “हामीलाई अझै जसपासँग औपचारिक एकताको पत्र प्राप्त भएको छैन। हाम्रो सिफारिसभन्दा बाहिरको व्यक्तिलाई उम्मेदवार बनाइयो भने जिल्ला कमिटीले स्वीकार्दैन र त्यसको प्रतिवाद गर्छ।”
पर्सा–१ मा जसपा नेपालको उम्मेदवार कसलाई बनाइने भन्ने विषयले पार्टीभित्र आन्तरिक बहस चर्किँदै गएको छ भने अन्तिम निर्णयले स्थानीय राजनीति थप तातिने देखिएको छ।


