सर्लाही, ०२ माघ। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष राज कुमार महतोमाथि नातावाद, कृपावाद तथा जातीय पक्षपात गरेको गम्भीर आरोप लागेको छ। स्थानीयस्तरमा अध्यक्ष महतोले आफन्त र नजिकका जातीय समूहका व्यक्तिलाई विभिन्न पदमा नियुक्त गर्दै पालिकालाई ‘आफन्त भर्ती केन्द्र’ बनाएको खुलासा भएको छ।
प्राप्त विवरण अनुसार अध्यक्ष महतोले आफ्नै फुफुको छोरा देनकुमार महतोलाई गाउँपालिकाको शिक्षा शाखामा प्राविधिक सहायक (पाँचौँ तह) मा नियुक्त गरेका छन्। त्यति मात्र होइन, देन कुमार महतोकै श्रीमती सजन महतोलाई वडा नं. ४ स्थित श्री शंकर सिंह चन्द्रावती सार्वजनिक प्राथमिक विद्यालय, गरहाटोलमा बालविकास कोटामा शिक्षिकाको रूपमा नियुक्त गरिएको छ।
स्रोतका अनुसार सजन महतोसँग आवश्यक लाइसेन्स नहुँदा बालविकास कोटामार्फत नियुक्ति गरिएको बताइएको छ। देन कुमार महतो केही वर्षदेखि शिक्षा शाखामा कार्यरत रहँदा उनकी श्रीमती हाल केही महिनादेखि विद्यालयमा कार्यरत छन्।
यसैबीच, प्राविधिक सहायक देन कुमार महतोमाथि शिक्षक भर्ना प्रक्रियामा आर्थिक चलखेल गरेको आरोपसमेत लागेको छ। वडा नं. ६ का स्थानीय सुवोध कर्णका अनुसार जिरो दरबन्दीका विद्यालयमा स्वयंसेवक शिक्षक भर्ना गर्ने क्रममा प्रति शिक्षक दुई लाख १० हजार रुपैयाँ घुस मागिएको थियो। प्रस्ताव अस्वीकार गरेपछि लिखित परीक्षा पास गरे पनि मौखिक परीक्षामा असफल गराइएको आरोप लगाइएको छ।
साथै, दिवा खाजाका लागि समेत २० हजार रुपैयाँ माग गरिएको कर्णको दाबी छ। अध्यक्ष महतोका आफ्नै दाईका छोरा अशोक महतोसमेत वडा नं. ४ स्थित पोखरिया स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन्। यसका साथै,अध्यक्षका मामाका छोरा मेघनाथ महतोलाई कम्प्युटर अपरेटर र उनका भतिजा कृष्णकुमार महतो कुशवाहालाई कार्यालय सहयोगीको रूपमा नियुक्त गरेका छन्।
त्यसैगरी, गाउँकै अर्का आफन्त शम्भु शरण कुशवाहालाई सञ्चालनमै नआएको अस्पतालमा डेन्टिस्ट पदमा नियुक्त गरिएको आरोप छ। नातामा आफ्ना ज्वाइँ संजय महतोलाई सामी परियोजनाअन्तर्गत पाँचौँ तहमा तथा मितज्यू पर्ने राजकुमार महतोलाई बहुक्षेत्रीय पोषण योजनामा सहजकर्ताको रूपमा नियुक्त गरिएको बताइएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै नेकपा चन्द्रनगरका नेता लखिन्द्र मुखियाले अध्यक्ष महतोले पालिकामा नातावाद र जातीय राजनीति हावी गराएको आरोप लगाए। उनले नजिकका आफन्त र एउटै जातका व्यक्तिलाई प्राथमिकतामा राखेर नियुक्ति गर्नु लज्जास्पद भएको टिप्पणी गरे।
वडा नं. ३ का नेपाली कांग्रेसका युवा नेता धर्मेन्द्र यादवले पनि अध्यक्ष महतोले राजनीतिक पदको दुरुपयोग गर्दै आफ्नै ‘नयाँ व्यापार’ सुरु गरेको आरोप लगाए। उनका अनुसार पालिकामा सीमित नातेदार र जात विशेषलाई मात्र अवसर दिनु लोकतान्त्रिक मूल्यविपरीत हो।
यता, मिडियामा समाचार सार्वजनिक भएपछि प्राविधिक सहायक देनकुमार महतोले भने ती आरोपहरूलाई अस्वीकार गर्दै प्रमाणविहीन र नियोजित अफवाह भएको प्रतिक्रिया दिएका छन्। केही राजनीतिक व्यक्ति, झोले मिडियाकर्मी र युवालाई प्रयोग गरेर आफूलाई बदनाम गरिएको उनको दाबी छ।
उनले आफ्नो प्रतिक्रियामा असब्य तरिका र गालिग्लोज समेत गरेका छन्।


