निर्वाचनबीच रुकुमपूर्वमा जिम्मेवारी त्यागे मतदान अधिकृत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन ११, मंगलबार (१७ घण्टा अघि)
  • ५४ पटक पढिएको
निर्वाचनबीच रुकुमपूर्वमा जिम्मेवारी त्यागे मतदान अधिकृत

रुकुम पूर्व, १२ फागुन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी खटनपटनलाई लिएर रुकुम पूर्वमा विवाद चर्किएको छ ।

निर्वाचनमा शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वलाई लिखित पत्र बुझाउँदै खड्काले आफूलाई तोकिएको भूमे गाउँपालिका–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुन्वाङको मतदान अधिकृतको पद त्याग गरेको घोषणा गरेका हुन् । उनले शिक्षकहरूको पेसागत गरिमा र मर्यादामा आँच पुग्ने गरी निर्वाचन आयोगले विभेदकारी नीति लिएको आरोप लगाएका छन् ।

‘समाजलाई चेतना र शिक्षाको उज्यालो दिने शिक्षकहरूलाई पूर्ण रूपमा बाइपास गरिएको छ । उनीहरूको मान–मर्यादा र जिम्मेवारीप्रति राज्यले उचित सम्मान नगरेको अनुभूति भएपछि मलाई मतदान अधिकृत भएर काम गर्न नैतिकताले दिएन’, खड्काले पत्रमा उल्लेख गरेका छन् ।
स्वास्थ्यकर्मी खटाएकोमा चौतर्फी विरोध

जिल्ला निर्वाचन कार्यालयले यसपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीहरूलाई निर्वाचन कार्यमा परिचालन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो ।

यसअघि नै नेपाल शिक्षक महासंघ र नेपाल पत्रकार महासंघ रुकुमपूर्वले स्वास्थ्यकर्मीलाई चुनावी कार्यमा नख६उन र उनीहरूलाई नियमित स्वास्थ्य सेवामै केन्द्रित गर्न माग गर्दै आएका थिए ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत निर्वाचन अवधिभर स्वास्थ्यकर्मीहरूलाई २४ सै घण्टा ‘अलर्ट’ रहनुपर्ने भन्दै उनीहरूलाई निर्वाचन कार्यमा नखटाउन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ । तर, जिल्लामा भने अन्य क्षेत्रमा कार्यरत कर्मचारी हुँदा पनि स्वास्थ्यकर्मीलाई नै चुनावी जिम्मेवारी तोकिएपछि विवाद चर्किएको छ ।

अन्योलमा निर्वाचन कार्यालय

निर्वाचनको मुखैमा जिम्मेवार कर्मचारीले नै जिम्मेवारी सम्हाल्न नसक्ने बताएपछि जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्व दबाबमा परेको छ । एकातिर स्वास्थ्य मन्त्रालयको निर्देशन र अर्कोतिर शिक्षकहरूको असन्तुष्टिले गर्दा जिल्लामा निर्वाचन व्यवस्थापनमा समस्या देखिएको छ ।

सहायक शिक्षा अधिकृत खड्काको यो कदमपछि अन्य शिक्षक र शिक्षा क्षेत्रका कर्मचारीहरूले पनि विरोधका स्वरहरू बढाउन थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले यो परिस्थितिलाई कसरी सम्बोधन गर्छ र रिक्त स्थानमा कसरी कर्मचारी व्यवस्थापन गर्छ भन्ने विषय अहिले जिल्लाभर चासोको केन्द्र बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस