नेकपामा मत खोजी प्रकरणमा प्रचण्डको कडा चेतावनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ महिना अघि)
  • ११३ पटक पढिएको
नेकपामा मत खोजी प्रकरणमा प्रचण्डको कडा चेतावनी

काठमाडौं, ०६ चैत। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ लाखभन्दा बढी मत घटेको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीभित्र चर्चा भएको छ । निर्वाचनबाट निर्णायक शक्तिको रूपमा स्थापित हुने आन्तरिक मूल्याङ्कन फेल खाएपछि नेकपाले १६५ निर्वाचन क्षेत्रको वस्तुगत रिपोर्ट पठाउन तल्ला समितिलाई निर्देशन दिएको छ ।

फागुन २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निर्वाचन परिचालन समितिको बैठकमा नेकपाले चुनावी परिणमबारे प्रारम्भिक समीक्षा गरेको थियो ।

तीन वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १० सिट र समानुपातिकतर्फ ७ लाखभन्दा बढी मत घटेपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रोशित भए । जिल्ला–जिल्लाबाट केन्द्रीय सदस्यहरूले समेत राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेको रिपोर्ट आएको भन्दै प्रचण्डले उनीहरूलाई कारबाही गर्ने चेतावनी दिए ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै उनले सबै निर्वाचन क्षेत्रबाट ठोस रिपोर्ट आएपछि कारबाही सुरु गर्ने चेतावनी दिए । कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु हुने उनको भनाइ थियो ।

‘कसले भोट हालेनन् ? कसले घन्टीमा हाले, त्यो रिपोर्ट दिनै पर्‍यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन । सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट कारबाही सुरु गरिन्छ’, प्रचण्डले भनेका थिए, ‘पचास प्रतिशत घन्टीमा गएको सामान्य रिपोर्ट आएको छ । ठोस रूपमा ल्याउनोस् । तिनलाई हामीले आँखा चिम्लिएर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो । नयाँ पार्टी बनाउने सुरुवात हुने हो ।’

२०७९ सालको निर्वाचनमा साविक नेकपा माओवादी केन्द्रले मात्र ११ लाख ७५ हजार ६८४ मत ल्याएको थियो । अर्को घटक नेकपा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको थियो । निर्वाचन अगाडि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत २५ घटक मिलेर नेकपा गठन भएको थियो । यी दुई पार्टीको कुल मत १४ लाख ७४ हजार ७५ थियो ।

त्यसमा जनता समाजवादी पार्टी, नागरिक उन्मिुक्ति पार्टी लगायत घटकबाट करिब ५० हजार मत थपिएको अनुमान गरिएको थियो । यी सबै पार्टीले पाएको कुल मत १५ लाख २४ हजार ७५ भएको आन्तरिक विश्लेषण गरिएको थियो ।

अघिल्ला निर्वाचनमा गठबन्धनका कारण सीमित क्षेत्रमा मात्र उम्मेदवार उठाइएको कारण समानुपातिक मत प्राप्त नभएको आन्तरिक निष्कर्ष निकालेको थियो । योपटक १६४ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएकाले पनि समानुपातिक मत बढ्ने विश्लेषण नेकपाले निकालेको थियो । तर निर्वाचन आयोगले सार्वजनिक गरेका अन्तिम चुनावी परिणाम अनुसार नेकपाले ८ लाख ११ हजार ५७७ मात्र मत प्राप्त गर्‍यो ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी माओवादी केन्द्र एक्लैले ३२ सिट जितेको थियो । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट र नाउपाले चार सिट जितेको थियो । मधेस, सुदूरपश्चिम प्रदेशमा जनमत रहेको एकीकृत समाजवादी र नाउपाको बहुमत पक्ष एकता प्रक्रियामा आएकाले कम्तीमा ४५ सिट जित्न सक्ने नेकपाले आन्तरिक मूल्याङ्कन गरेको थियो ।

यद्यपि योपटक सिट संख्या १७ मा खुम्चिँदै पार्टी चौथो स्थानमा धकेलिएपछि नेकपाभित्र पार्टी पुनर्गठनको कुरा जोडतोडले उठेको बेला प्रचण्डले सबै निर्वाचन क्षेत्रको रिपोर्ट पेस गर्न निर्देशन दिए । कार्यक्रममा उनले भौतिक पूर्वाधार विकास, पैसा, बलियो संगठन भएरमात्र चुनाव जित्न सकिने भाष्य पनि गलत भएको निष्कर्ष सुनाए ।

‘विकास गरेपछि हुन्छ भन्ने तर्क त हो, तर मूख्य तर्क होइन । तपाईंहरूले भन्नुभयो– भरतपुरको विकास अन्तर्राष्ट्रियस्तरको छ । तर हराइदिए । पैसा टन्न खर्च गरेपछि जितिहालिन्छ भन्ने हो भने विनोद चौधरीले जितिहाल्थे । उनले पनि हारे’, प्रचण्डले भने, ‘संगठन व्यवस्थित बनाएर, पत्रपत्रिका, प्रचार सबै राम्रो गरेर जनताको चित्त बुझाएको भक्तपुरमा नारायणमान बिजुक्छे (नेपाल मजदुर किसान पार्टी)ले हारे । संगठन राम्रो र बलियो भएको एमालेले पनि हार्‍यो । त्यसकारण यी कुरा सहायक हुन् । मुख्य कुरा विचार, राजनीति र संघर्ष हो । यस बिचमा हामी संघर्षमा पछि परियो ।’

अहिले चुनाव हार्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव रहेको प्रचण्डको जिकिर थियो । उनले नेकपामात्र नभई बलियो संगठन भएका कांग्रेस, एमालेले पनि ठुलो धक्का खाएकाले पराजय हुँदैमा निराश नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

‘निर्वाचन परिणाम प्रतिकूल आउनुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव छ । म त्यसतर्फ धेरै व्याख्या गर्दिनँ । रास्वपाको उम्मेदवार चिनेको छैन । हावा–हुरी त्यस्तै आयो । घन्टी–घन्टी भनेर जनमत प्रभावित भयो’, उनले भने, ‘विचार, राजनीतिक हिसाबले हामीले जितेका छौँ । जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको संघीयता, समावेशी, धर्मनिरपेक्षता, लोकतन्त्र जोगिएको छ । योपटक पराजय भयो भन्दैमा निराश नहुनोस् । अर्कोपटक फेरि उठ्छौँ ।’

पार्टीलाई विचार र राजनीतिसँगै संगठनलाई चुस्त बनाउन ध्यान केन्द्रित गर्ने उनले बताए ।

कार्यक्रममा सहभागी नेता राजेन्द्र श्रेष्ठले अन्य दलको तुलनामा नेकपाको क्षति कम भएको जिकिर गरे । जनमतको हिसाबले पहिलो बागमती, दोस्रो लुम्बिनी, तेस्रो मधेस रहेको उनले दाबी गरे । बलियो संगठनको हिसाबले कर्णाली प्रदेश उत्कृष्ट भएको उनको बुझाइ छ । तर अपेक्ष गरे अनुसार सुदूरपश्चिममा मत नआएको निष्कर्ष उनले सुनाए । उनले भने, ‘गण्डकीमा पहिले नै खस्किएको थियो । पूर्वमा पनि राम्रो उपस्थिति हुन सकेन ।’

श्रेष्ठले २५ घटक भनिए पनि सिङ्गै पार्टी समायोजन भएको जसरी विश्लेषण गर्न नमिल्ने तर्क गरे । उनले भने, ‘तुलनात्मक रुपमा नेकपालाई कम क्षति भएको छ । २६ घटक भनिए पनि पूर्वपार्टीका सबै आएका होइनन् । एकीकृत समाजवादीका अधिकांश नेता तथा कार्यकर्ता पहिले नै एमाले फर्किसकेका थिए । एकता हुँदा किसान श्रेष्ठ, रामकुमारी झाक्री लगायत एमालेमा फर्किए । घनश्याम भुसाल नेकपा संयुक्तमा गए । माओवादी केन्द्र पनि चोइटियो । जसपा नेपालबाट सबै आएका होइनन् । नाउपाको पनि धेरै रेशम चौधरीको पार्टीमा गए । त्यसैले सिङ्गै पार्टी समायोजन भएको जसरी व्याख्या गर्न मिल्दैन ।’

खासमा एकता प्रक्रियामा जोडिएका जनवर्गीय संगठनलाई कसरी समायोजन गर्ने भन्ने विषयमा छलफलको क्रममा प्रचण्डले चुनावी नतिजाबारे बिफ्रिङ गरेको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा तत्कालीन ठुला दल कांग्रेस, एमाले निर्वाचनमा जान आनाकानी गरिरहेको बेला नेतृत्वले किन सक्रियता देखायो भन्ने प्रश्न उठेको थियो ।

‘हाम्रो पार्टीले हतार हतार चुनावमै जानुपर्छ भनेर किन भनियो ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भएको कुरा प्रचण्डलाई थाहा नहुने कुरा भएन । किनकि चुनावमा जान कांग्रेस र एमाले मानिरहेका थिएनन्’, सहभागी अर्का एक नेताले भने ।

नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले चुनावी परिणामबारे सचिवालय बैठकमा गम्भीर समीक्षा हुने बताए । पार्टी पुनर्गठन र रुपान्तरण गर्नका लागि एकता महाधिवेशन असारमा गर्नेगरी छलफल अगाडि बढ्ने उनको भनाइ छ ।

‘हाम्रो पार्टीले किन लगातार धक्का खाइरहेको छ, त्यसबारे गम्भीर समीक्षा हुन्छ । केही दिनमा सचिवालय बैठक बस्छ । विचारको संश्लोषण सहित पार्टी रुपान्तरण तथा पुनर्गठनका लागि असारमा महाधिवेशन गर्नेगरी केन्द्रीय समिति बैठक पनि बोलाउने छौँ’, उनले भने ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस