
काठमाडौं, १६ चैत। प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् ।
खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।
तर, खड्का आज त्रिवि शिक्षण अस्पतालमा भर्ना भए । अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान ३ बजे अस्पताल ल्याइएको थियो । अहिले १०२९ बेड नम्बरमा भर्ना गरिएको छ ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा पनि त्रिवि शिक्षण अस्पतालमै भर्ना भएका छन् । शनिबार नै अस्पताल भर्ना भएका उनी चिकित्सकको निगरानीमा छन् ।
