
काठमाडौं, १८ चैत। नेकपा (एमाले) का कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न गृहमन्त्री सुदन गुरुङ स्वयं उनको निवास पुगेका छन् ।
केही दिनअघि एमाले कार्यकर्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नाराबाजी गर्दै हिँड्ने क्रममा ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि सडक पेटीमा हिँडिरहेका एक ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
भिडियो सार्वजनिक भए लगत्तै गृहमन्त्री गुरुङले तत्काल चासो व्यक्त गर्दै ललितपुर प्रहरीलाई घटनाको प्राथमिकताका साथ अनुसन्धान गर्न निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार प्रहरीले एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ ललितपुर जिल्ला अध्यक्ष राम शरण शर्मा बजगाईँलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान अघि बढाएको छ ।
गृहमन्त्री गुरुङले मङ्गलवार पीडित ज्येष्ठ नागरिकको घरमै पुगेर भेटघाट गरेका थिए । भेटका क्रममा पीडितले तत्काल कारबाही गरेर न्याय दिलाएकोमा गृहमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका थिए । “म पीडित हुँदा तुरुन्तै कारबाही गरेर साथ दिनुभयो, धन्यवाद,” पीडितले भनेका छन् ।
गृहमन्त्री गुरुङले घटनाले आफूलाई निकै चिन्तित बनाएको र “निदाउन समेत नसकेको” बताए । उनले ज्येष्ठ नागरिकमाथि भएको दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै कानुनी कारबाही कडाइका साथ अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।
“हरेक नागरिकलाई सुरक्षित रूपमा बाँच्ने अधिकार छ । ज्येष्ठ नागरिकप्रति सम्मान र संरक्षण गर्नु हामी सबैको दायित्व हो,” गृहमन्त्री गुरुङले भने ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको छ । पक्राउ परेका बजगाईँलाई कानुनबमोजिम कारबाही गरिने बताइएको छ ।
