निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (१ दिन अघि)
  • ८१ पटक पढिएको
निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, १९ चैत। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलो संसद् बैठक बस्दै छ । दिउँसो २ बजेलाई तय गरिएको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेता/संसदीय दलका नेताले सम्बोधन गर्दै छन् ।

संसद्‌मा सबैभन्दा ठूलो दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बाेधन गर्ने भएका छन् । सभापतिले सम्बोधन गर्ने निर्णय भएको पार्टी प्रवक्ता मनीष झाले बताए । अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा नेताहरुले धारणा राख्ने भएका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट भने भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् । तेस्राे दल एमालेका तर्फबाट दलका नेता रामबहादुर थापा र नेकपाबाट नेता वर्षमान पुनले बाेल्नेछन् ।

श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, स्वतन्त्र सांसद महावीर पुनले पनि धारणा राख्नेछन् ।

कसले कति मिनेट समय पाउँछन् ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४० मिनेट बाेल्न पाउने भए पनि २५ मिनेट भए पुग्छ भनेकाले २५ मिनेट समय निर्धारण गरिएको छ। कांग्रेसबाट आङ्देम्बेले बोल्ने पाएको समय ८ मिनेटमा थप २ मिनेट गरेर १० मिनेट बनाइएकाे छ । एमालेबाट थापाले पाएको समय ५ मिनेट भए पनि थप ३ मिनेटसहित ८ मिनेट रहेकाे छ ।

नेकपाबाट पुनले बोल्ने पाउने समय ५ मिनेट रहेकामा थप २ मिनेट गरेर ७ मिनेट तोकिएको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीबाट साम्पाङले बोल्न पाउने समय ५ मिनेट भए पनि २ मिनेट थपेर ७ मिनेट बाेल्नेछन् । राप्रपाबाट ज्ञानबहादुर शाही  र स्वतन्त्र सांसद महावीर पुनले पनि ७ मिनेट नै बाेल्नेछन् ।

बैठकमा के हुन्छ?

बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।

शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ । सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची पनि तय भएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् ।

कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस