
वीरगञ्ज, २९ चैत। वीरगञ्जमा कुखुरा फर्ममा कार्यरत एक कामदारमाथि निर्घात कुटपिट गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१७ निवासी ३० वर्षीय सकिन लाल देवान लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।
परवानीपुर प्रहरी चौकी नजिक रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालक देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय कामदार नुर आलम देवान लाई लठ्ठीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
भाइरल भिडियोमा सञ्चालकले कामदारमाथि कुखुरा चोरी गरी बिक्री गरेको आरोप लगाउँदै निर्घात कुटपिट गरेको देखिन्छ। घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।
मानव अधिकारविरुद्धको कार्य भएको भन्दै सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
