मार्तडी–कोल्टी सडक कालोपत्र ठप्प, ठेकेदारको लापरबाहीले बजेट फ्रिज

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (४ घण्टा अघि)
  • ५६ पटक पढिएको
मार्तडी–कोल्टी सडक कालोपत्र ठप्प, ठेकेदारको लापरबाहीले बजेट फ्रिज

काठमाडौं, १० वैशाख। बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कनेदेखि कोल्टीसम्मको कालोपत्रको काम अलपत्र अवस्थामा छ । निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रको काम अलपत्र परेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए ।

काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले समयमै काम नगर्ने र अर्कोतिर बर्सेनि बजेट फिर्ता पठाउने काम भइरहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा यो सडकमा परेको १५ करोड बजेट समयमै काम हुन नसक्दा १३ करोड ५० लाख बढी रकम फिर्ता भएको थियो । चालु आर्थिक वर्षमा २० करोड बजेट भए पनि अहिलेसम्म ठेकेदारले काम सुरु नगरेको कार्यालय प्रमुख थापाले बताए ।

यो आर्थिक वर्षमा पनि ठेकेदारले काम नगर्दा फेरि करोडौँ रकम फिर्ता हुने भएको छ । आर्थिक वर्ष २०७६/७७ मा (२०७७ असारमा) २६ किलोमिटर सडक कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले ढम्कनेदेखि चुथीसम्म (६ किलोमिटर) र चुथीदेखि कोल्टीसम्म (२६ किलोमिटर) दुवै खण्डको ठेक्का लिएको थियो । चुथीदेखि ढम्कनेसम्मको सडकको भने २०७७ सालभन्दा पहिला नै सम्झौता भएको थियो ।

चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ वर्षमा काम सम्पन्न गर्ने सर्त थियो । तीन वर्षमा काम नसकेपछि कार्यालयले पटक-पटक म्याद थप गरेको थियो ।

म्याद थप गरे पनि यो आर्थिक वर्षको चैत लागिसक्दा पनि ठेकेदारले काम सुरु गरेको छैन । काम नहुने भएपछि यो वर्ष पनि रकम फिर्ता हुने सम्भावना रहेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

कार्यालयले २६ किलोमिटर कालोपत्रका लागि ९८ करोडको टेन्डर गरेको थियो । पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्सातमा मार्तडी-कोल्टी सडक बन्द हुने गरेको स्थानीय शङ्करबहादुर चदाराले बताए ।

केही दिनपहिला पूर्वाधार विकास कार्यालय अछामले ठेक्का तोड्नेबारे १५ दिने सूचना प्रकाशित गरेको थियो । ठेक्का नतोड्नुपर्ने कारण भए कार्यालयमा सम्पर्क गर्नसमेत भनेको थियो, तर सूचना प्रकाशित भएको म्याद सकिँदासम्म पनि ठेकेदार कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।

पीएस बानियाँ निर्माण सेवाका प्रतिनिधि तथा इन्जिनयर सरोज राईले यस अघि विभिन्न कारणले काम हुन नसकेको स्वीकार्दै मेसिन पुगिसकेको र केही दिनमा काम सुरु हुने जानकारी दिए ।

मार्तडी-कोल्टी सडकखण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुवर्षीय योजनामा छ । यो सडकको २६ किलोमिटरबाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रका लागि ५८ करोड विनियोजन भएको थियो ।

मार्तडीदेखि चुथीसम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ । चुथीदेखि ढम्कने ६ किलोमिटर कालोपत्रको काम धेरै बाँकी रहेको छ । सम्पूरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत सङ्घ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।

मार्तडीदेखि कोल्टीसम्म ४१ किलोमिटर बूढीनन्दा नगरपालिका–२ कोल्टीगाउँसम्म पुग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । मार्तडी-कोल्टी ४१ किलोमिटर सडक कालोपत्रका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम बराबरको तीन प्याकेजमा टेन्डर भएको थियो ।

कालोपत्रको ठेक्का हुनुभन्दा पहिला यो ४१ किलोमिटरमा ३५ करोडभन्दा बढी खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण सुरु भएको २६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । २०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले उक्त सडकको शिलान्यास गरेका थिए । शिलान्यासका बेला २०६० सालसम्म कोल्टीमा गाडी पुर्‍याइसक्ने लक्ष्य राखिएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस