कक्षा १२ को नतिजा असार १५ भित्र सार्वजनिक गर्ने तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १०, आईतबार (९ घण्टा अघि)
  • ११ पटक पढिएको
कक्षा १२ को नतिजा असार १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौ, १० जेठ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल असार १५ गते भित्र सार्वजनिक गर्ने लक्ष्यसहित कार्य योजना लागू गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार परीक्षा नियन्त्रण कार्यालयले आवश्यक तयारी पूरा गरी कार्यान्वयन सुरु गरेको हो । बोर्डले असार १५ भित्र परीक्षाफल प्रकाशित गर्ने जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कार्य योजनाअनुसार ‘मार्किङ स्किम’ सुरु भइसकेको छ । प्रत्येक विषयमा पाँच जना विज्ञ सहभागी गराई कार्यशाला सञ्चालन भइरहेको छ । “मन्त्री र बोर्डको निर्देशनअनुसार सबै तयारी पूरा गरेका छौँ । तोकिएकै समयमा नतिजा सार्वजनिक गर्छौँ,” उनले भने ।

बोर्डले परीक्षा सम्पन्न भएकै दिन प्रश्न पत्र सङ्कलन गरी प्रदेशस्थित कार्यालयमा पठाइसकेको छ । वैशाख तेस्रो साताभित्र सबै केन्द्रबाट उत्तर पुस्तिका सङ्कलन गरिएको र दैनिक रूपमा प्राप्त उत्तर पुस्तिकाको विषयगत प्याकिङ भोलिपल्टै गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

उत्तर पुस्तिका परीक्षणका लागि सम्बन्धित कार्यालयअन्तर्गत विषयगत शिक्षक उपलब्ध हुने स्थानमा परीक्षण केन्द्र तोकी काम सुरु गरिएको छ । सम्भव भएसम्म सिसी क्यामेरा जडान भएका विद्यालयलाई परीक्षण केन्द्र बनाइएको र नभएका स्थानमा सिसिटिभी जडान गरेर मात्र परीक्षण सुरु गरिएको बोर्डले जनाएको छ ।

एकभन्दा बढी परीक्षण केन्द्र भएका जिल्लामा फरक जिल्ला वा स्थानका केन्द्रमा उत्तर पुस्तिका पठाई परीक्षण भइरहेको छ भने एउटै केन्द्र भएको स्थानमा आफ्नै विद्यालयको उत्तर पुस्तिका नपर्ने गरी फरक विद्यालयका शिक्षकमार्फत परीक्षण गराइएको छ । शिक्षक अभाव वा अन्य कारणले परीक्षण हुन नसकेका उत्तर पुस्तिका परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको छ ।

यस वर्षदेखि परीक्षण केन्द्रबाटै सम्परीक्षण गर्ने व्यवस्था गरिएको छ । यसअघि सम्परीक्षण परीक्षा नियन्त्रण कार्यालयमै हुने गरेको थियो । हरेक विषयका कम्तीमा एक जना अनुभवी सम्परीक्षक सम्बन्धित केन्द्रमा खटाउने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । आवश्यक परे सम्बन्धित परीक्षकहरूमध्येबाट मापदण्ड पुगेका व्यक्तिलाई सम्परीक्षक नियुक्त गरिनेछ । सम्परीक्षणपछि प्राप्ताङ्क खामबन्दी गरी तत्काल परीक्षा नियन्त्रण कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी थिए । नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र २९० अन्य परीक्षार्थी रहेका छन् ।

जिल्लागत रूपमा सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँमा ६४ हजार ३३८ परीक्षार्थी सहभागी भएका थिए । देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको थियो । सबैभन्दा बढी काठमाडौँमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १–१ केन्द्र निर्धारण गरिएको थियो ।

बोर्डले यस वर्ष विगतभन्दा व्यवस्थित र प्रविधिमैत्री ढंगले मूल्याङ्कन प्रक्रिया अघि बढाएको दाबी गर्दै तोकिएको समय सीमाभित्र नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस