काठमाडौं महानगरको छात्रवृत्ति योजना : १४ हजार उत्तीर्ण, १० प्रतिशत कसले पाउँछ ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (६ घण्टा अघि)
  • ३२ पटक पढिएको
काठमाडौं महानगरको छात्रवृत्ति योजना : १४ हजार उत्तीर्ण, १० प्रतिशत कसले पाउँछ ?

काठमाडौ, १८ जेठ। काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयले दिने कक्षा ११ र १२ को १० प्रतिशत छात्रवृत्तिका लागि १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भए । शैक्षिकसत्र २०८३/८४ को छात्रवृत्तिका लागि महानगरले लिएको परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो । नतिजामा चित्त नबुझे जेठ २० गतेसम्म पुनर्योगका लागि निवेदन दिन समय दिइएको छ ।

परीक्षामा उच्चतम अंक प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अंक प्राप्त गरेका छन् । दोस्रो उच्चतम प्राप्त गर्ने एक जना विद्यार्थीले ९१ अंक र तेस्रोमा पाँच जना विद्यार्थीले ९० अंक पाएका छन् । छात्रवृत्तिका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र छ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।

अब कसरी छनोट हुन्छ ?

परीक्षा सदस्यसचिव खड्काका अनुसार उत्तीर्ण भएका सबै विद्यार्थीले छात्रवृत्ति पाउँदैनन् । ‘५ हजार जति कोटा छ । मेरिटको आधारमा छनौट गर्ने हो,’ उनले भने, ‘कार्यविधि बनाएका छौँ । कसलाई कति प्रतिशत भनेर छुट्टाइएको छ ।’

विद्यार्थीले जुन विद्यालय रोजेको छ त्यो विद्यालयले दिने छात्रवृत्ति मेरिटको आधारमा हुनेछ । विद्यालयले विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति दिनुपर्ने हुन्छ । कार्यविधिमा ५ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने छ ।

५ सयदेखि ८ सयसम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा १२ प्रतिशत र ८ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले कम्तीमा १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने भनिएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा पनि संस्थागत विद्यालयको छात्रवृत्ति विद्यार्थी संख्याको आधारमा दिने उल्लेख छ । महानगरले पनि त्यसैगरी कार्यविधि बनाएको हो ।

जम्मा संख्यालाई शतप्रतिशत मानेर छात्रवृत्ति उपलब्ध गराइने महानगरले जनाएको छ । तर, जम्मा विद्यार्थी संख्या हिसाब गर्दा कार्यविधि बमोजिम छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी गणना नगरिने भनिएको छ । विद्यार्थी संख्याको आधारमा १० देखि १५ प्रतिशत छात्रवृत्तिलाई शतप्रतिशत मानेर विभिन्न समूहमा छात्रवृत्तिको प्रतिशत छुट्टाइएको छ ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ३५ प्रतिशत, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई १० प्रतिशत, काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएका सामुदायिक/संस्थागत विद्यालयमा अध्ययन गरेका सबै विद्यार्थीका लागि १९ प्रतिशत तोकिएको छ ।

त्यसैगरी ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको स्थायी बासिन्दा सामुदायिक/संस्थागत विद्यालयमा अध्ययन गरेकाको हकमा १ प्रतिशत राखिएको छ । बाँकी रहेको ३५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीको हकमा लागू हुने परीक्षा समितिका सदस्यसचिव खड्काले बताए ।

छात्रा ३३ प्रतिशत, आदिवासी/जनजाति १५ प्रतिशत, मधेशी १२ प्रतिशत, खस आर्य १७ प्रतिशत, दलित ९ प्रतिशत, थारु ४ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्ति ४ प्रतिशत, मुस्लिम २ प्रतिशत, अपाङ्गता भएको व्यक्ति वा अपाङ्गता भएको व्यक्तिका सन्तानले २ प्रतिशत छात्रवृत्ति पाउने छन् ।

शहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, जेन जी आन्दोलन लगायतका आन्दोलनका घाइते योद्धाहरूको परिवार र द्वन्द्व पीडित समूहका व्यक्ति तथा संरक्षित परिवारका व्यक्तिलाई २ प्रतिशत तोकिएको छ ।

पिछडिएको क्षेत्रको व्यक्ति भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेको व्यक्तिलाई भनिएको छ । आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्या विद्यार्थी उपलब्ध नभएमा महानगरवासीलाई प्राथमिकता दिइने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस