रोमानिया पठाउने बहानामा ठगी, रकम भेटिएन उल्टै ऋण देखियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २३, शनिबार (९ घण्टा अघि)
  • ६१ पटक पढिएको
रोमानिया पठाउने बहानामा ठगी, रकम भेटिएन उल्टै ऋण देखियो

विराटनगर, २३ जेठ। वैदेशिक रोजगारीमा रोमानियाको प्रलोभन देखाई सयौँ युवाहरूलाई ठगी गरेको आरोप लागेका मोरङका उद्धव पाठकको बैंक खातामा नगद मौज्दात शून्य भेटिएको छ । बरु सवा करोडभन्दा बढी ऋण देखिएको छ ।

‘केएसए इन्टरनेसनल ग्रुप प्रा.लि.’ दाम्राभिट्टाका सञ्चालक पाठकले सर्वसाधारणबाट करोडौँ रुपैयाँ असुले पनि बैंकिङ विवरणमा उल्टै १ करोड २८ लाख रुपैयाँ ऋण लिएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले पाठकविरुद्ध हालसम्म २८६ वटा निवेदन तथा जाहेरी परेको जानकारी दिए । ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धान र प्राप्त जाहेरीका आधारमा ठगी गरिएको कुल रकम ४ करोड ३८ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ,’ एसपी कटवालले भने, ‘पीडितहरू आउने क्रम अझै जारी रहेकाले यो रकम अझ बढ्न सक्ने देखिएको छ ।’

प्रहरीको अनुसन्धानले पाठकको आर्थिक कारोबार शंकास्पद देखाएको छ । उनले सप्तकोशी विकास बैंक र गरिमा विकास बैंकमा खाता सञ्चालन गरे पनि ती खाताहरूमा हाल कुनै मौज्दात रकम छैन । अचम्मको कुरा त के छ भने, सर्वसाधारणबाट करोडौँ उठाएका पाठकको नाममा सप्तकोशी विकास बैंकबाट मात्रै १ करोड २८ लाख रुपैयाँ ऋण निकालिएको भेटिएको छ । उनले संकलन गरेको करोडौँ रकम कहाँ व्यवस्थापन गरे वा कतै लुकाए भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।

३७ वर्षीय पाठकको परिवारको ठूलो हिस्सा विगत लामो समयदेखि रोमानियामा बस्दै आएको खुलेको छ । उनकी श्रीमती लेखामाया पाण्डे विगत ७ वर्षदेखि रोमानियामा छिन् । त्यस्तै, उनकी एक मात्र बहिनी र ज्वाइँ समेत रोमानियामै बस्दै आएका छन् । पाठकका एक छोरी छिन् ।

नेपालमा उनको र परिवारको नाममा केही स्थिर सम्पत्ति देखिएको छ । रतुवामाई नगरपालिका वडा नं. ८ मा १ कठ्ठा जग्गा र टिनको छानो भएको सडक छेउको घर तथा सोही वडाको झुनावारी रोडमा ७ कठ्ठा १३ धुर खेती जग्गा पाठकको नाममा छ । यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ५ मा १० धुर जग्गामा बनेको एकतले पक्की घर पाठक र उनकी श्रीमतीको संयुक्त नाममा रहेको पाइएको छ । त्यसैगरी, उनका बुवा खड्गप्रसाद पाठकको नाममा रतुवामाई–८ मा १५ धुर घडेरीसहितको दुईतले घर र उर्लाबारी–५ मा ५ धुर घडेरी रहेको विवरण प्रहरीले संकलन गरेको छ ।

प्रहरीले पाठकको कार्यालय र अन्य स्थानबाट १४६ थान राहदानी (पासपोर्ट) बरामद गरेको छ । बरामद भएका राहदानीका विषयमा जिल्ला सरकारी वकिल कार्यालय मोरङसँग समन्वय गरी सम्बन्धित व्यक्तिलाई बुझाउने प्रक्रिया सुरु गरिएको एसपी कटवालले जानकारी दिए ।

 ‘राहदानीको फोटोकपी गराई र आवश्यक कागजी प्रक्रिया पूरा गरी हालसम्म ३२ थान राहदानी सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको छ,’ एसपी कटवालले भने । बाँकी राहदानी लिनका लागि सम्बन्धित सरोकारवालाहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो ठगी प्रकरणमा उद्धव पाठक एक्लै नभई एउटा समूह नै सक्रिय रहेको प्रहरीको दाबी  छ । ठगीमा संलग्न भनिएका अन्य प्रतिवादीहरू अर्जुन कुमार भट्टराई, बद्री पाण्डे, विकास बस्नेत र हरिप्रसाद लोहा हाल फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्यलाई तीव्रता दिएको छ ।

पक्राउ परेका पाठक र म्यानपावरका लेखापाल अभि भण्डारीमाथि हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगारीको नाममा गाउँका सोझा युवाहरूलाई ठगी गरी करोडौँ कुम्ल्याउने यो गिरोहका अन्य सदस्यहरू पनि छिट्टै कानुनी दायरामा आउने दाबी प्रहरीले गरेको छ ।

अहिले इलाका प्रहरी कार्यालय सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङमा पीडितहरूको भीड लाग्ने गरेको छ । ऋण काढेर विदेश जानका लागि बुझाएको पैसा डुबेपछि सयौँ परिवारको बिचल्ली भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस