कटहरिया नगरपालिकाको १२औं नगरसभाबाट ४८ करोड ७७ लाख भन्दा बढि बजेट प्रस्तुत

कटहरिया नगरपालिकाको १२औं नगरसभाबाट ४८ करोड ७७ लाख भन्दा बढि बजेट प्रस्तुत

 

वर्तमानकाल दैनिक
असार २२, रौतहट

रौतहट, रौतहटको कटहरिया नगरपालिकाको १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सोमबार सम्पन्न भएको छ । “जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार“ भन्ने मूल
नारासहित सम्पन्न नगरसभामा आर्थिक वर्ष २०८३÷०८४ का लागि रु. ४८ करोड ७७ लाख ४७ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको हो। नगर प्रमुख अजय प्रकाश जैसवालले नगरसभामा बजेट प्रस्तुत गर्दै मधेश आन्दोलनसहित लोकतान्त्रिक आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उनले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार, नागरिकका मौलिक हक, दिगो विकास लक्ष्य (क्म्न्क), चालु आर्थिक वर्षका अनुभव, स्थानीय आवश्यकताहरू तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आधार बनाएर बजेट निर्माण गरिएको बताए।

नगर प्रमुख जैसवालका अनुसार प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ रु. ३३ करोड ८८ लाख ७२ हजार र चालु खर्चतर्फ रु. १४ करोड ८८ लाख ७५ हजार विनियोजन गरिएको छ। नगरपालिकाले विकास निर्माण, सामाजिक सेवा, सुशासन तथा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई केन्द्रमा राख्दै सन्तुलित बजेट ल्याएको जनाएको छ ।

नगर प्रमुख जैसवालले आगामी आर्थिक वर्षमा नगरभित्र सञ्चालन हुने विकास योजनाहरू समयमै सम्पन्न गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा जनप्रतिनिधि, कर्मचारी र नगरवासीबीच सहकार्य र समन्वयलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले
नगरवासीको जीवनस्तर उकास्ने, बालबालिका तथा युवाको क्षमता विकास गर्ने, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य बजेटले लिएको स्पष्ट पारे।

विकास र पूर्वाधारलाई प्राथमिकताबजेटमा आर्थिक विकास, पूर्वाधार निर्माण, वडा स्तरीय योजना, सडक तथा पुल निर्माण, भवन तथा शहरी विकास, सिँचाइ, ऊर्जा, सञ्चार, खानेपानी तथा सरसफाइ, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको छ ।
यसका साथै न्यायिक समिति, विधायन समिति, सार्वजनिक सेवा तथा क्षमता विकास, कर्मचारी कल्याण कोष, विपन्न सहायता कोष, आकस्मिक तथा भैपरी आउने खर्च, समपूरक कोष, वित्तीय व्यवस्थापन तथा सुशासनका कार्यक्रमलाई समेत बजेटमा समेटिएको नगर प्रमुखले जानकारी दिए ।शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष जोड शिक्षा क्षेत्रको गुणस्तर सुधार, जनस्वास्थ्य प्रवद्र्धन, प्रशासनिक सुधार, रोजगारी प्रवद्र्धन, महिला तथा बालबालिकाको सशक्तीकरण, कृषि अनुदान, वरिष्ठ नागरिक सेवा, अपाङ्गता भएका व्यक्तिको सहयोग तथा डिजिटल सेवा प्रणालीको विस्तारका लागि समेत उल्लेखनीय बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै “मेरो स्वास्थ्य, मेरो समुदाय“ अभियान सञ्चालन गरिने नगर प्रमुख जैसवालले बताए। यस अन्तर्गत प्रत्येक टोल र बस्तीमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी सरसफाइ, जनचेतना तथा रोग नियन्त्रणका गतिविधि सञ्चालन गरिनेछ । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा एमबीबीएस तथा एमडी चिकित्सकको व्यवस्था गरिने घोषणा गरिएको छ। यसबाट स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै नगरभित्र प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुखले मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक रु. ५ हजार उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी दिए ।

यस कार्यक्रमले दीर्घरोगी तथा आर्थिक रूपमा कमजोर बिरामीलाई राहत पुग्ने विश्वास नगरपालिकाले लिएको छ।पर्यटन प्रवद्र्धनमा नयाँ योजना कटहरिया नगरपालिकाले आगामी वर्ष पर्यटन तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई पनि विशेष प्राथमिकतामा राखेको छ । नगरभित्र रहेका मन्दिर, धार्मिक स्थल तथा अन्य पर्यटकीय गन्तव्यहरूको वृत्तचित्र (डोकुमेन्ट्री) निर्माण गरी सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्ममार्फत प्रचारप्रसार गरिने नगर प्रमुखले जानकारी दिए । यसबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी स्थानीय पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा नगरको आर्थिक गतिविधि बढाउने लक्ष्य लिइएको उनले बताए ।

सुशासन र डिजिटल सेवामा जोडनगरपालिकाले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन डिजिटल सेवा प्रणाली विस्तार गर्ने नीति लिएको छ । वित्तीय अनुशासन, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत क्षमता अभिवृद्धिका कार्यक्रमसमेत बजेटमा समावेश गरिएका छन् ।

नगर प्रमुख जैसवालले विकास निर्माणसँगै सुशासन, सामाजिक न्याय, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा विपद् व्यवस्थापनलाई समान महत्व दिँदै आगामी वर्ष नगरपालिकालाई नमुना स्थानीय सरकारका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख रिता देवी यादव, प्रमुख प्रशासकिय अधिकृत रामबिनय सिंह, लेखापाल कामेश्वर सहनी, विभिन्न वडाका वडाध्यक्षहरू, नगरसभा सदस्य, नगरपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नगरसभाले प्रस्तुत बजेटमाथि छलफल गर्दै आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त नगरसभामा कटहरिया नगरपालिकाको ५ जना वडाअध्यक्षहरु नगरसभाको बिरोध गरिएको थियो । नगरसभाको बिरोधमा कटहरिया नगरपालिकाको वार्ड नं.१ का वडाअध्यक्ष भुपेन्द्र महतो, वार्ड नं.२ का वडाअध्यक्ष हरेन्द्र प्रसाद कलवार , वार्ड नं.४ का वडाअध्यक्ष चन्दन कुश्वाहा, वार्ड नं. ६ का वडाअध्यक्ष जयराम चौधरी र वडा नं. ९ का वडाअध्यक्ष रुपेश यादबहरुले नगरसभाको बिरोध गर्दै प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापनपत्र समेत बुझाईएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस