धनकुटामा ९ महिनापछि जुट्यो नेकपा, २५१ सदस्यीय जिल्ला समिति गठन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ४, सोमबार (१ दिन अघि)
  • ५१ पटक पढिएको
धनकुटामा ९ महिनापछि जुट्यो नेकपा, २५१ सदस्यीय जिल्ला समिति गठन

धनकुटा, ०४ साउन। गत वर्ष कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ९ महिनापछि बल्ल धनकुटामा एकता भएको छ । केन्द्र र त्यसपछि प्रदेश तहमा पार्टी एकता सम्पन्न भएपछि धनकुटामा जिल्ला तहको एकता टुंगिएको छ ।

नेकपा धनकुटाले जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरी २ सय ५१ सदस्यीय जिल्ला समिति घोषणा गरेको छ । समितिको संयोजकमा कुसुमकुमारी श्रेष्ठ तथा सहसंयोजकमा डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला चयन भएका छन् ।

जिल्ला एकता भेला सम्पन्न भई समितिले पूर्णता पाएसँगै धनकुटामा लामो समयदेखि प्रतीक्षामा रहेको संगठनात्मक एकताले औपचारिक रूप पाएको छ । केन्द्र र प्रदेश तहको संरचना निर्माणपछि जिल्लामा संगठनलाई थप सुदृढ बनाउने, जनपरिचालनलाई प्रभावकारी बनाउने तथा स्थानीय तहसम्म पार्टी गतिविधि विस्तार गर्ने उद्देश्यका साथ नयाँ समिति गठन गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले अब कोशी प्रदेश सरकारको नेतृत्व नेकपाले पाउनुपर्ने बताए । कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गरिसकेको उल्लेख गर्दै उनले अब प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने अवस्था सिर्जना भएको दाबी गरे ।

राईले लोकतन्त्रका मूल्य–मान्यता र संविधानको भावनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाए । राज्यसत्ता अत्यधिक केन्द्रिकृत बन्दै गएको उल्लेख गर्दै उनले सिंहदरबारले प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुको सट्टा उनीहरूको भूमिका कमजोर पार्ने प्रयास गरिरहेको बताए ।

कार्यक्रममा प्रदेश सहइन्चार्ज पर्शुराम बस्नेत, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सहइन्चार्जहरू विष्णुमाया कन्दङ्वा र आरपी बास्तोला लगायतका नेताहरूको उपस्थिति रहेको नेकपा कोशी प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिइन् ।

उनका अनुसार नौ महिनापछि सम्पन्न भएको जिल्ला एकतालाई नेकपाले संगठन विस्तारको नयाँ सुरुआतका रूपमा लिएको छ । नवगठित जिल्ला समितिले स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा जनआधारित कार्यक्रमलाई तीव्रता दिने लक्ष्य लिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस