
सुनसरी, २६ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गएको साउन १० गते भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच हिजो भएको सहमतिअनुसार मेहतालाई शहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ । सहमतिमा साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुन बमोजिम तत्काल आवश्यक कारबाही अघि बढाउने उल्लेख छ ।
देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतकाबारे तत्काल आवश्यक छानबिन शुरु गर्ने सहमति भएको छ । सहमतिपत्रमा सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ । घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुन बमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ ।
सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३ सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाहसंस्कार गर्ने सहमति गरेको छ । घटनामा ज्यान गुमाएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
