नेतृत्व कुर्सीबाट होइन, मैदानबाट : वृन्दावनका नगर प्रमुख बिनोद कुर्मीको फरक शैली

नेतृत्व कुर्सीबाट होइन, मैदानबाट : वृन्दावनका नगर प्रमुख बिनोद कुर्मीको फरक शैली

रमेश कुमार यादव
साउन ३०,रौतहट
नेतृत्व भनेको निर्देशन दिनु मात्रै होइन, आवश्यक पर्दा आफैं काममा उत्रिनु पनि हो’ भन्ने सन्देश वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीको पछिल्लो गतिविधिले दिएको छ। नगर प्रमुख भएपछि कार्यालयको कुर्सीमा बसेर योजना, बजेट र प्रशासनिक कामको मात्रै निगरानी गर्ने परम्पराभन्दा फरक शैली अपनाउँदै कुर्मी पछिल्लो समय नगरका विभिन्न गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी हुँदै आएका छन्। जनताका समस्या नजिकबाट बुझ्ने र आवश्यकताअनुसार स्थलगत रूपमा पुगेर काममा समेत हातेमालो गर्ने उनको शैलीले स्थानीय तहमा जनप्रतिनिधिको भूमिकालाई थप फरक ढंगले प्रस्तुत गरेको छ।


यसैक्रममा शनिबार वृन्दावन नगरपालिका–१ स्थित वडा कार्यालय परिसरमा नगरप्रमुख कुर्मी आफैं हँसिया बोकेर खर तथा झारपात काट्दै गरेको अवस्थामा देखिए। वडा कार्यालय आसपासमा बढेको लामो खर तथा झारपात सफा गर्ने क्रममा उनी आफैं मैदानमा उत्रिएका हुन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा नगरप्रमुख कुर्मी सेतो पोसाकमै एक हातमा हँसिया र अर्को हातमा काटेर बटुलेको खरको मुठो बोकेर सरसफाइमा खटिएको देखिन्छ। सामान्यतः जनप्रतिनिधिलाई कार्यालयमा बैठक, छलफल र प्रशासनिक गतिविधिमा व्यस्त देख्ने स्थानीयले नगरप्रमुखलाई आफैं श्रममा जुटेको दृश्यलाई फरक र सकारात्मक गतिविधिका रूपमा लिएका छन्।


स्थानीयका अनुसार सार्वजनिक स्थानको सरसफाइ तथा व्यवस्थापन केवल कर्मचारी वा सरसफाइमा खटिने व्यक्तिको जिम्मेवारी मात्रै नभई जनप्रतिनिधि र नागरिक सबैको साझा दायित्व हो। नगरप्रमुख आफैं सरसफाइमा सहभागी हुँदा यसले नागरिकलाई पनि सार्वजनिक स्थान सफा राख्न प्रेरित गर्ने उनीहरूको भनाइ छ।
नगरप्रमुख कुर्मीले नगरको विकासलाई सडक, भवन, खानेपानी वा अन्य भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित गर्न नहुने धारणा राख्दै आएका छन्। उनका अनुसार नागरिकले दैनिक रूपमा भोगिरहेका सामान्य समस्या समाधानदेखि सार्वजनिक स्थलको सरसफाइ, सेवा प्रवाहको प्रभावकारिता र विकास निर्माणको अनुगमनसम्म जनप्रतिनिधिको जिम्मेवारी जोडिएको हुन्छ।


वृन्दावन नगरपालिकाले पछिल्लो समय शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी तथा सामाजिक विकास लगायतका क्षेत्रमा सेवा विस्तार र सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरका विभिन्न वडामा भइरहेका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन नगरप्रमुख स्वयं स्थलगत रूपमा पुग्ने गरेका छन्।नगरप्रमुख कुर्मीको हँसिया बोकेर खर काट्दै गरेको तस्वीरले भने विकास र नेतृत्वको विषयमा थप चर्चा सिर्जना गरेको छ। जनप्रतिनिधि जनताबाट टाढा रहेर निर्देशन दिने व्यक्ति मात्रै नभई आवश्यक पर्दा नागरिकसँगै उभिएर समस्या समाधानमा सहभागी हुनुपर्ने सन्देश उनको गतिविधिले दिएको स्थानीयको बुझाइ छ।


स्थानीय तहमा जनप्रतिनिधिको प्रत्यक्ष सहभागिताले नागरिकसँगको सम्बन्ध थप बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ। नगरप्रमुख कुर्मीको पछिल्लो सक्रियता पनि यही अभ्यासको एउटा उदाहरणका रूपमा हेरिएको छ।
‘काम गर्नेले कसैलाई भन्दै हिँड्नुपर्दैन, काम आफैंले बोल्छ’ भन्ने भाव झल्काउने उनको यो तस्वीर अहिले स्थानीयस्तरमा चर्चाको विषय बनेको छ। विकासका ठूला योजनासँगै साना–साना सार्वजनिक काममा समेत नेतृत्व तहको सहभागिता देखिनुले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस