सवारी दुर्घटनाको विवादले उग्र रूप लियो, दुई पक्षबीच चक्कु हानाहान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २८, शुक्रबार (१६ घण्टा अघि)
  • ६१ पटक पढिएको
सवारी दुर्घटनाको विवादले उग्र रूप लियो, दुई पक्षबीच चक्कु हानाहान

बारा ,२७ कात्तिक। बाराको महागढीमाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट दुई वर्षीया बालिका घाइते भएको विषयलाई लिएर भएको विवादमा एक युवकलाई चक्कु प्रहार गरिएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित सडकमा बिहीबार बिहान करिब १० बजे १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले स्थानीय दुई वर्षीया बालिकालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।

सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा स्थानीय ३७ वर्षीय भिम साह लहेरा र मोटरसाइकल चालक बालक मिलेर स्थानीय १९ वर्षीय सुरज साह लहेरामाथि चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट सुरजको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको थियो ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा ३७ वर्षीय भिम साह लहेरा र १५ वर्षीय मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस