भीमफेदी दुर्घटनाका मृतकका परिवारले क्षतिपूर्ति पाउने, प्रक्रिया सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २८, शुक्रबार (१६ घण्टा अघि)
  • ५७ पटक पढिएको
भीमफेदी दुर्घटनाका मृतकका परिवारले क्षतिपूर्ति पाउने, प्रक्रिया सुरु

रौतहट,२७ कात्तिक। सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउनेबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्ति अनुसार, घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने रकम उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार प्रक्रिया अघि बढाइएको हो ।

भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हिजो (कात्तिक २६) भएको दुर्घटनामा परेर १४ जनाको मृत्यु भएका छन् भने ६ जना घाइते भएका छन् ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुन् ।

सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री कार्यालयका सहसचिव अर्यालले बताए ।

‘उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उता, दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् ।

मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव उठाउन नमानेका हुन् ।

दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न पाँच सदस्यीय छानबिन समिति पनि बनाइएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

‘सरकार दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस