रसुवा बाढीमा ९ सशस्त्र प्रहरीसहित ५० तीर्थयात्री सम्पर्कविहीन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ४७ पटक पढिएको
रसुवा बाढीमा ९ सशस्त्र प्रहरीसहित ५० तीर्थयात्री सम्पर्कविहीन

काठमाडौ, १० भदौ। रसुवामा बुधबार बिहान आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीको तह अघिल्लो वर्षको तुलनामा झन्डै पाँच गुणा ठूलो रहेको स्थानीय बासिन्दाले बताएका छन् । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार धुन्चेबाट सामान्य अवस्थामा नदेखिने भोटेकोशी नदीसमेत बुधबार देखिएको थियो । बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती तथा संरचनामा ठूलो असर परेको उनले बताए ।

उनका अनुसार टिमुरे बजार र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढीले नदी किनारका क्षेत्रमा रहेका संरचनामा क्षति पुर्‍याउनुका साथै आवागमनसमेत प्रभावित बनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार रसुवाका विभिन्न स्थानमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । यस्तै, कैलाश मानसरोवर यात्रामा रहेका करिब ५० जना तीर्थयात्रीसमेत सम्पर्कमा नरहेको उनले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा समेत ठूलो क्षति पुगेको छ ।

बाढीको प्रभाव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै सरकारी निकायले रसुवादेखि नुवाकोट, धादिङ हुँदै चितवनको मुग्लिनसम्म नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारले आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत सम्बन्धित निकाय परिचालन भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्ला प्रशासन कार्यालयलगायतका निकायले उद्धार, खोज तथा राहतका कामलाई तीव्रता दिएका छन् ।

गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कमान्ड सेन्टर स्थापना गरी उद्धार तथा राहतका काम समन्वय भइरहेको छ । मेडिकल टोलीसहित नेपाली सेनाको हेलिकोप्टर रसुवा पठाइएको छ ।

सरकारले उद्धार कार्यलाई प्रभावकारी बनाउन देशका सबै १२ हेलिकोप्टर कम्पनीका ३४ वटा हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आवश्यकताअनुसार प्रभावित क्षेत्रमा हवाई उद्धार गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले समेत सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन् । सरकारले प्रभावित नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस