
सिरहा, ११ भदौ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि सिरहाका ६ जना सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा गोलबजार नगरपालिका–७ का करिब ३२ वर्षीय राजा कुमार यादव, कल्याणपुर नगरपालिका–११ का करिब ३० वर्षीय रोशन साह, सुखीपुर नगरपालिकाका आनन्द कुमार सिंह, कल्याणपुर नगरपालिका–११ डोकहाका श्याम सुन्दर साह (जिज्ञासु), लहान नगरपालिका–१५ विराटनगर टोलका इन्जिनियर मुकेश कुमार चौधरी र सखुवानन्कारकट्टी गाउँपालिका–१ भौर टोलका सकलदेव यादव (मुन्ना) रहेका छन्।.
परिवारका अनुसार सम्पर्कविहीन सबैजना रसुवास्थित विभिन्न हाइड्रोपावर तथा निर्माण आयोजनामा कार्यरत थिए।
गोलबजार नगरपालिका–७ का राजा कुमार यादव १११ मेगावाटको शेर्पा हाइड्रोपावर कन्स्ट्रक्सन प्रा.लि. आयोजनामा करिब दुई वर्षदेखि सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए ।
बाढी आएको खबर पाएलगत्तै परिवारले उनलाई सम्पर्क गर्ने प्रयास गरे पनि अहिलेसम्म सम्पर्क हुन नसकेको उनका भाइ रोशन यादवले जानकारी दिए।
त्यस्तै, कल्याणपुर नगरपालिका–११ का रोशन साह पनि रसुवास्थित एक हाइड्रोपावर आयोजनामा करिब एक वर्षदेखि सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए।
उनका दाइ पप्पु साहका अनुसार रोशन कार्यरत क्षेत्रमा मोबाइल टावरको समस्या रहेकाले नियमित सम्पर्क हुन कठिन हुने गरेको थियो। परिवारका अनुसार उनीसँग करिब तीन दिनअघि कुराकानी भएको थियो। त्यसपछि भने सम्पर्क हुन सकेको छैन।
सुखीपुर नगरपालिकाका आनन्द कुमार सिंह पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। सिंह रसुवास्थित हाइड्रोपावर आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत रहेको परिवारले जनाएको छ। उनको अवस्थाबारे हालसम्म कुनै जानकारी नआएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन्।
यसैगरी, कल्याणपुर नगरपालिका–११ डोकहाका श्याम सुन्दर साह (जिज्ञासु) पनि रसुवास्थित हाइड्रोपावर आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए। बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।
लहान नगरपालिका–१५ विराटनगर टोलका इन्जिनियर मुकेश कुमार चौधरी पनि सम्पर्कविहीन भएका छन्। उनका भाइ विक्रम चौधरीका अनुसार मुकेश करिब दुई महिनादेखि रसुवाको नाकानजिकै रहेको एक हाइड्रोपावर आयोजनामा कार्यरत थिए। बाढीपछि उनीसँग सम्पर्क हुन सकेको छैन।
त्यसैगरी, सखुवानन्कारकट्टी गाउँपालिका–१ भौर टोलका सकलदेव यादव (मुन्ना) पनि सम्पर्कविहीन भएका छन्। उनी फेवा कन्स्ट्रक्सनअन्तर्गत त्रिशूली–३ ‘डी’ आयोजनामा कार्यरत रहेको उनका काका महिन्द्र यादवले जानकारी दिए।
भोटेकोशीमा आएको बाढीपछि सिरहाका ६ जना सम्पर्कविहीन भएपछि उनीहरूका परिवार, आफन्त तथा स्थानीयवासी चिन्तित बनेका छन्। परिवारजनले सम्बन्धित निकायसँग सम्पर्कविहीनहरूको अवस्था यथाशीघ्र पत्ता लगाउन तथा खोजी र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको बताइएको छ। बाढीका कारण नदी किनारका बस्ती, सडक तथा विभिन्न संरचनामा समेत क्षति पुगेको छ।
