
वीरगञ्ज, ११ भदौ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मधेस प्रदेशका ३० जना नागरिक सम्पर्कविहीन भएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका मधेस प्रदेशका ३० जना नागरिक बाढीपछि हालसम्म सम्पर्कमा आएका छैनन्।
प्रहरीको अद्यावधिक तथ्यांकअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी पर्साका १६ जना छन्। यस्तै सर्लाहीका ६ जना, बाराका ३ जना, रौतहटका २ जना र सप्तरीका २ जना रहेका छन्।
पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरी सम्पर्कविहीन छन्।
बाराका नारायण सिंह, सत्यप्रकाश राम र अन्कित पटेल तथा रौतहटका गौरव राउत र शेख मजिद पनि सम्पर्कविहीनको सूचीमा छन्।
त्यस्तै, सर्लाहीका माधव काफ्ले, अनुज काफ्ले, कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा र सुनिल कुशवाहा तथा सप्तरीका अजयकुमार यादव र साजन चौधरीको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।
यसअघि सम्पर्कविहीन सूचीमा रहेका सर्लाहीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि सम्पर्कमा आइसकेका छन्।
मधेस प्रदेश प्रहरीले बाँकी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको जनाएको छ। साथै, परिवार तथा आफन्तजनलाई अनावश्यक त्रास र भ्रममा नपर्न आग्रह गर्दै आधिकारिक सूचनामा भर पर्न अनुरोध गरेको छ।
