अस्पतालले घाइतेलाई प्राथमिक उपचार दिँदै गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाएको छ ।
चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि सोही अस्पताल पुर्याइएको छ ।
बाढीले नुवाकोटको त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण सडक र पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने पहुँचसमेत प्रभावित भएको उनले बताए ।
ढुंगे क्षेत्रका पक्की पुल बगाउँदा आवतजावत ठप्प भएको र गम्भीर बिरामीलाई स्थलमार्गबाट काठमाडौं पठाउन सक्ने अवस्था नरहेको उनले जानकारी दिए ।
डा. परियारका अनुसार बिहीबारसम्म अस्पताल पुर्याइएका २४ जना बिरामीमध्ये ९ जनाको अवस्था गम्भीर थियो । उनीहरूलाई नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
अन्य बिरामीको भने चक्रदेवी अस्पतालमै उपचार भइरहेको छ । अहिले पनि बिरामी ल्याउने क्रम जारी रहेको र अस्पतालमा आपतकालीन अवस्था जस्तै गरी उपचार भइरहेको डा. परियारले बताए ।
खोज तथा उद्धार कार्य भर्खरै तीव्र हुन थालेकाले घाइतेको संख्या अझ बढ्न सक्ने उनी बताउँछन् ।
‘अहिले त खोजी तथा उद्धार कार्य बल्ल सुरु भएको छ,’ उनले भने, ‘अझ ठूलो संख्यामा बिरामी आउन सक्ने सम्भावना देखिएको छ ।’
१५ शय्याको चक्रदेवी अस्पतालले आवश्यक परे ‘ट्रायाज’ प्रणालीमार्फत एकै पटक ठूलो संख्यामा बिरामी व्यवस्थापन गर्ने तयारी गरेको छ। तर अस्पतालमा जनशक्ति सीमित रहेको डा. परियारले बताए ।
उनका अनुसार अस्पतालमा दुई जना चिकित्सकसहित सीमित स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन् ।
बाढीपछि अस्पतालको उपचार सेवामा सबैभन्दा ठूलो चुनौती भने बिजुली आपूर्ति बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा बिरामीको निरन्तर निगरानीका लागि आवश्यक उपकरण सञ्चालन गर्न समस्या भएको छ ।
अस्पतालले अहिले पेट्रोलबाट चल्ने इन्भर्टरको सहारामा उपचार सेवा सञ्चालन गरिरहेको छ । तर पेट्रोलको अभावले यो व्यवस्था पनि लामो समयसम्म कायम राख्न चुनौती देखिएको छ ।
बाढीले ढुंगे क्षेत्रको पेट्रोल पम्पसमेत बगाएको र बट्टारमा रहेको अर्को पेट्रोल पम्पमा पेट्रोल अभाव भएपछि समस्या थपिएको डा. परियारले बताए ।
‘मुख्य समस्या अहिले बिजुलीको हो । बिजुली नभएपछि बिरामीलाई निरन्तर मोनिटरमा राख्न गाह्रो भएको छ,’ उनले भने, ‘जेनेरेटर चलाउनका लागि पेट्रोलसमेत सकिएको छ ।’