भोटेकोशी बाढीमा बगेर आएका शव व्यवस्थापन गर्न भरतपुरमा पहिचान केन्द्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (२ घण्टा अघि)
  • ५३ पटक पढिएको
भोटेकोशी बाढीमा बगेर आएका शव व्यवस्थापन गर्न भरतपुरमा पहिचान केन्द्र

काठमाडौ, ११ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका शवको व्यवस्थापन तथा पहिचानलाई सहज बनाउन चितवनको भरतपुरमा शव पहिचान केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रमा एकैपटक पाँच सय शवसम्म राख्न सकिने व्यवस्था गरिएको बताइएको छ।

जिल्लामा रहेको एकमात्र भरतपुर अस्पतालको शवगृहमा २२ वटा मात्र शव राख्न मिल्ने भएपछि नारायणी र त्रिशूली नदी किनारमा भेटिएका शव व्यवस्थापनका लागि छुट्टै पहिचान केन्द्र स्थापना गरिएको हो। बिहानैदेखि खोजी तथा उद्धार अभियान तीव्र पारिएसँगै धमाधम शव भेटिन थालेपछि आफन्तलाई पहिचान गर्न सहज हुने गरी केन्द्र सञ्चालनमा ल्याइएको हो।

जिल्ला कारागार अगाडि रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनमा रहेको खाली कोठालाई शव पहिचान केन्द्रका रूपमा तयार गरिएको छ। शव सुरक्षित राख्न कोठाको तापक्रम अत्यधिक चिसो बनाउने गरी एसीसमेत जडान गरिएको छ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदी किनारमा भेटिएका र पहिचान गर्न मिल्ने शवलाई मात्र पहिचान केन्द्रमा राखिनेछ। उनका अनुसार नदी किनारबाट उद्धार गरिएका शवलाई भरतपुर अस्पतालमा ल्याई हिलो तथा फोहोर सफा गरिनेछ। त्यसपछि आवश्यक मुचुल्का तयार गरी ‘डेड बडी प्याक ब्याग’मा राखेर पहिचान केन्द्रमा व्यवस्थापन गरिनेछ।

शव राखिएको ब्याग तथा केन्द्रबाहिर पहिचानका लागि आवश्यक फोटो राखिने व्यवस्था गरिएको छ। आफन्तले फोटो हेरेर शव पहिचान गरेपछि नाता खुल्ने आधार र आवश्यक प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइने एसपी पौडेलले बताए।

केन्द्रमा पीडित परिवारलाई आवश्यक जानकारी, समन्वय तथा सहयोग उपलब्ध गराउन पीडित परिवार डेस्क समेत स्थापना गरिएको छ।

बाढीले बगाएर ल्याएका शवमध्ये बिहीबार बिहानसम्म ७३ जनाको शव फेला परेको थियो। पानीको सतह घट्दै गएपछि नदी किनारमा थप शव भेटिने क्रम बढेको प्रहरीले जनाएको छ। एसपी पौडेलका अनुसार नदी किनारका विभिन्न स्थानबाट सयभन्दा बढी शव संकलन गरिएको छ।

शव तथा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि चितवनको फिस्लिङदेखि गोलाघाटसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। नदी किनारबाट शवलाई पहिचान केन्द्रसम्म ल्याउन संयुक्त एम्बुलेन्स चालक संघले निःशुल्क सहयोग गरिरहेको संघका अध्यक्ष नवराज लामिछानेले बताए।

बाढीपछि नारायणी र त्रिशूली नदीमा बगेर आएका शवको संख्या बढ्दै गएसँगै पहिचान, व्यवस्थापन र आफन्तलाई जिम्मा लगाउने कार्यलाई व्यवस्थित बनाउन भरतपुरमा स्थापना गरिएको पाँच सय शव क्षमताको पहिचान केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस