
काठमाडौ, १४ भदौ। सरकारले देशभर आएको बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्धार अनुरोध पोर्टलमा राखिएको विवरणअनुसार हालसम्म १४ हजार ९ सय ९ जना मानिस हराएको/सम्पर्कविहीन भएको उल्लेख छ।
पोर्टलका अनुसार बेपत्ता भएकामध्ये हालसम्म २ हजार ४ सय ७३ जना फेला परेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ४ सय १३ जना मानिस हराएको विवरण पोर्टलमा समावेश गरिएको छ।
बेपत्ता भएकामध्ये १८ वर्षमुनिका ६ सय २७ जना बालबालिका रहेका छन् भने ६० वर्षभन्दा माथिका ३ सय ६९ जना ज्येष्ठ नागरिक रहेका छन्।
यसैगरी, पोर्टलमा ६ सय ६५ जना परिवारको प्रतीक्षामा रहेको र १ हजार ८ सय ८ जना भेटिएको/समाधान भएको विवरणसमेत उल्लेख छ।
विपद्का कारण ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने अवस्था देखिएको छ। सरकारले प्रभावित क्षेत्रबाट प्राप्त विवरणका आधारमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य जारी राखेको जनाएको छ।
