सुरुङको अवस्था पत्ता लाग्यो, उद्धार विज्ञ परिचालन गरिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
सुरुङको अवस्था पत्ता लाग्यो, उद्धार विज्ञ परिचालन गरिँदै

काठमाडौ, १४ भदौ। नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ ।

तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको उनले जानकारी दिए ।

यो सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भएको उनले बताए ।

‘यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ र भित्र फसेकाहरूको उद्धार गर्न पनि मिल्छ,’ उनले भने, ‘अक्सिजन छिराउने प्वाल हिजै पारेकाले फसेकाहरू सकुशल हुने आशा छ । चाँडै उद्धारको प्रयास भइरहेको छ ।’

यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो ।

हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको सांसद् तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले बताए । उनले उद्धार क्षेत्रमै बसेर यो प्रक्रियाको नेतृत्व गरिरहेका छन् । न्यौपानेले पनि टनेल भटिएको खबर दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारको काम बाढी गएको दुई दिनपछि शुक्रबारमात्रै थालिएको थियो । पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएकाले भित्र फसेका जीवनको बारेमा चिन्ता थपिँदै गएको अधिकारीहरू बताउँछन् ।

आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहको ओभरहलिङमा त्यहाँ करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान विद्युत् प्राधिकरणको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस