फसेकाहरूको अवस्था बुझ्न माथिल्लो त्रिशूली–१ का आफन्त घटनास्थल जाँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १५, सोमबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
फसेकाहरूको अवस्था बुझ्न माथिल्लो त्रिशूली–१ का आफन्त घटनास्थल जाँदै

काठमाडौ, १५ भदौ। रसुवा बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्त घटनास्थलतर्फ गएका छन् ।

उनीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित काठमाडौं थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका थिए । त्यसपछि कम्पनी र आफन्तबीच सहमति भएपछि घटनास्थलतर्फ गएका हुन् ।

फसेकाहरूका आफन्तलाई सहमति भएपछि दुई वटा हेलिकप्टर मार्फत घटनास्थलतर्फ लगिएको हो । उनीहरूले घटनास्थल पुगेर आफन्तको अवस्था, उद्धारको प्रगति तथा आयोजनास्थलमा भएको क्षतिको अवलोकन गर्नेछन् ।

यसअघि पाँच दिनसम्म आफन्तको अवस्थाबारे यकिन जानकारी नदिएको भन्दै परिवारजनले कम्पनी कार्यालयमा धर्ना दिएका थिए । उनीहरूले ‘जीवित भए उद्धार गर्न र नभए शव उपलब्ध गराउन’ माग गर्दै तत्काल घटनास्थलको अवस्था देखाउन कम्पनीसँग माग गरेका थिए ।

कम्पनी र पीडित पक्षबीच भएको सहमतिमा खोज तथा उद्धारका लागि हेलिकप्टर र उद्धार टोली उपलब्ध गराउने, प्रभावित स्थानमा जान आवश्यक यातायात व्यवस्था गर्ने तथा उद्धार र खोजका लागि घटनास्थल जाने आफन्तको खर्च कम्पनीले बेहोर्ने उल्लेख छ ।

त्यस्तै आयोजनामा कार्यरत सम्पूर्ण कर्मचारीको अवस्थाको विवरण पीडित पक्षलाई उपलब्ध गराउने, घटनाको दिनको सीसीटीभी फुटेज उपलब्ध गराउने, कम्पनीले तत्कालका लागि तयार गर्ने एक्सन प्लान पीडित पक्षलाई उपलब्ध गराउने र आवश्यकता अनुसार सरकारी संयन्त्रसँग समन्वय गर्ने सहमति भएको छ ।

त्यस्तै घटनासँग सम्बन्धित विवरण पीडित पक्षलाई उपलब्ध गराउने तथा सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्ने उल्लेख छ ।

आफन्तले बाढी आएको दिनदेखि नै कम्पनीले आयोजनास्थलमा रहेका व्यक्तिको अवस्थाबारे पर्याप्त जानकारी नदिएको आरोप लगाउँदै आएका थिए । कम्पनीले कर्मचारी तथा कामदारको अवस्थाबारे स्पष्ट विवरण नदिँदा आफूहरू थप अन्योलमा परेको उनीहरूको गुनासो थियो ।

यसअघि अनलाइनखबरसँग कुरा गर्दै आफन्तहरूले कम्पनीबाट पाँच दिनसम्म पनि आश्वासन मात्रै पाएको बताएका थिए । आयोजनाको सुरुङमा रहेका र मैलुङ साइट कार्यालयमा रहेका व्यक्तिको अवस्था यकिन नहुँदा उनीहरूले कम्पनीको जिम्मेवारीमाथि प्रश्न उठाएका थिए ।

कम्पनीका अनुसार माथिल्लो त्रिशूली-१ आयोजनामा ५ सय ७६ कामदार थिए भने मैलुङस्थित साइट कार्यालयमा ७५ जना थिए । आफन्तहरूले घटनास्थलमै पुगेर आफ्ना मान्छे कहाँ र कस्तो अवस्थामा छन् भन्ने प्रत्यक्ष जानकारी लिन पाउनुपर्ने माग राख्दै आएका थिए ।

कम्पनीले उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको तर उडानका लागि सरकारी अनुमति नपाएको दाबी गरेको थियो । कम्पनीका एक कोरियन प्रतिनिधिले पाँच हेलिकोप्टर तयारी अवस्थामा रहेको बताएका थिए ।

कम्पनीसँग भएको सहमतिपछि भने आफन्तलाई नै घटनास्थल लगेर वास्तविक अवस्था देखाउने बाटो खुलेको छ । त्यसका लागि दुइटा हेलिकप्टर मार्फत उनीहरूलाई घटनास्थलतर्फ पठाइएको हो ।

आफन्तका अनुसार अब उनीहरूले घटनास्थलमा रहेका उद्धार टोली, कम्पनीका प्रतिनिधि तथा आयोजनामा कार्यरत व्यक्तिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनेछन् । साथै, बाढीले आयोजनास्थलमा पुर्‍याएको क्षति र खोज तथा उद्धार भइरहेको स्थानसमेत अवलोकन गर्नेछन् ।

माथिल्लो त्रिशूली–१ नुवाकोटमा निर्माण भइरहेको २ सय १६ मेगावाटको आयोजना हो । बाढीपछि आयोजनाको सुरुङ तथा मैलुङ क्षेत्र प्रभावित बनेको थियो । यस आयोजनामा फसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै परिवारजनको आक्रोश बढेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस