रसुवागढी संकटमा : अर्बौंको लगानी बगेपछि नेपाल–चीन व्यापारको भविष्य अनिश्चित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १६, मंगलबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
रसुवागढी संकटमा : अर्बौंको लगानी बगेपछि नेपाल–चीन व्यापारको भविष्य अनिश्चित

काठमाडौं, १६ भदौ। गत आर्थिक वर्ष २०८२/८३ मा कुल वैदेशिक व्यापारको २.१८ प्रतिशत बराबर आयात रसुवागढीबाट भयो । तुलनात्मक हिसाबमा यो कम हो ।

किनकि, २४ असार २०८२ मा नेपाली-चीन सीमानाका हुँदै बग्ने भोटेकोशी (ल्हेन्दे) मा आएको बाढीका कारण यो नाका ६ महिना बन्द भयो ।

१७ पुष  २०८२ मा चीनले बेलिब्रिज सञ्चालनमा ल्याएसँगै पुन: व्यापार पुनर्स्थापित भएको थियो । पछिल्लो ६ महिना अवधिमा रसुवागढीबाट ४५ अर्ब ७३ करोड रुपैयाँ बराबर वस्तु आयात भयो । निर्यात ८९ करोड ४६ लाख बराबर भयो ।

नेपाल–चीन अन्तरदेशीय व्यापारका लागि अहिले तीन नाका सञ्चालनमा छन् । जसमध्ये रसुवागढी सबैभन्दा सहज र नजिकको नाका हो । गत आवमा तातोपानी नाकाबाट ४७ अर्ब ४८ करोडको वस्तु आयात भयो । निर्यात शून्य थियो ।

पछिल्लो समय यी दुवै नाकाको विकल्प बन्दै गएको मुस्ताङको कोरला नाकाबाट गत आवमा १४ अर्ब ४० करोड बराबरको वस्तु आयात भयो । यस नाका हुँदै २० करोड ५५ लाख बराबर वस्तु निर्यात भयो ।

कोरला नाकामा व्यापार बढ्नुमा गत वर्ष असारमा आएको बाढीले रसुवागढी नाका बन्द हुनु मुख्य कारण थियो । २०८१/८२ मा रसुवागढी नाकाबाट ८५ अर्ब २३ करोड बराबर आयात र २ अर्ब ४ करोड बराबर निर्यात भएको थियो । जुन कुल वस्तु आयातको ४.७२ प्रतिशत र कुल वस्तु निर्यातको ०.७४ प्रतिशत थियो ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार रसुवागढी नेपाल र चीन व्यापारको सबैभन्दा भरपर्दो व्यापारिक बिन्दु हो । २०७२ सालको भूकम्प अगाडि चीनले तातोपानी नाकालाई मुख्य भन्सार बनाएको थियो ।

त्यसपछि भने लामो समय यो नाका बन्द भयो । त्यसयता यो नाका पूर्ण बन्द छैन । तर, चिनियाँ पक्षले विभिन्न कारण देखाउँदै यो नाका पूर्ण क्षमतामा सञ्चालन गर्न इच्छा देखाएको छैन । सोहीकारण नेपाल-चीन अन्तरदेशीय व्यापारको आधार रसुवागढी बनेको थियो ।

२०८२ साल असार २४ को बिहान ३ बजे अकस्मात आएको बाढीले १८ जना बेपत्ता भएका थिए । मितेरी पुलसहित ठूलो भौतिक संरचनामा क्षति भयो ।

प्रतिनिधिसभा विकास समिति सभापति तथा तत्कालीन नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन्, ‘गत वर्ष नै बाढीले यस भन्सार बिन्दुसहित आसपासको बस्तीलाई कडा चेतावती दिएको थियो, सायद हामीले त्यसलाई गम्भीर लिन सकेनौं ।’

उनले भने जस्तै १० भदौ २०८३ एक त्रासदीपूर्ण कालो दिनका रूपमा स्थापित भयो, जसले हजारौं जनसंख्यालाई प्रत्यक्ष पीडितमात्र बनाएन, राज्यको अर्बौं र निजी क्षेत्रको खर्बौं लगानी एकै झट्कामा बगरमा परिणत गरिदियो ।

रसुवागढी नाका काठमाडौंदेखि गल्छी हुँदै रसुवागढीसम्म १ सय ३२ किलोमिटर दुरीमा छ । यसमध्ये रसुवातर्फको ४० किलोमिटर सडक पूर्णतया बगेको पूर्वाधार विकास मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

यस सडकमा विभिन्न खण्डको अवस्थाबारे सडक विभागले अध्ययन थालेको छ । मितेरीपुलदेखि गल्छीसम्म साढे दुई दर्जन सडक पुल बगेका छन् जसले गर्दा रसुवागढी नाका, भन्सार र अध्यागमनको कामलाई अनिश्चिततातर्फ धकेलेको छ ।

भन्सार विभाग निर्देशक बर्तौला सरकारले लिने निर्णयले यस नाकाका आगामी भविष्य निर्धारण गर्ने बताउँछन् । ‘यो अन्तरदेशीय मुख्य व्यापारिक नाका हो,’ उनी भन्छन्, ‘सरकारले सबै पक्ष अध्ययन गरी निर्णय लेला, सोही अनुसार विभागले काम गर्छ ।’

विभागका अनुसार यस भन्सारमा कार्यरत १५ कर्मचारी अझै सम्पर्कविहीन छन् । अहिले विभागको पहिलो प्राथमिकता समेत सम्पर्कविहीन आफ्ना कर्मचारीको खोज र उद्धार हो । सोही अनुसार विभागले विभिन्न टोली स्थलगत खटाएर कर्मचारी अवस्थाबारे खोजी थालेको छ ।

ऐतिहासिक नाका-भन्सारको ७० वर्षे इतिहास

भन्सार विभागका अनुसार रसुवागढी प्राचीनकालदेखि नै नेपाल र तिब्बतबीच व्यापार तथा सांस्कृतिक आदानप्रदानको प्रमुख मार्गका रूपमा परिचित थियो ।

तत्कालीन समयमा रसुवा जिल्लाका स्थानीय र तिब्बतको केरुङ क्षेत्रका जनताको जीवनयापन सञ्चालनका लागि वस्तु विनिमयको माध्यमबाट व्यापार गरी राजस्व समेत परिचालन गर्ने लक्ष्यसहित ऐतिहासिक तथा पुरातात्विक स्थल रसुवागढीमा २०१३ सालमा रसुवा भन्सार कार्यालय स्थापना भएको थियो ।

चीन सरकारले रसुवागढीलाई २०७५ सालमा मात्र अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएको हो । त्यसपछि यस नाकाको अन्तर्राष्ट्रिय महत्त्व समेत बढ्यो । यो नाका हुँदै नेपालले विद्युतीय सामग्री, तयारी पोसाक, जुत्ताचप्पल, निर्माण सामग्री, कृषि उत्पादन, दूरसञ्चार उपकरण, सवारीसाधन र औद्योगिक मेसिनरी जस्ता वस्तु मुख्य रूपमा आयात हुन्छ ।

नेपालबाट गलैँचा, हस्तकला सामग्री, ऊनी कपडा, जडीबुटी, चाउचाउ, तामाका भाडाकुँडा तथा कृषि उपज चीनतर्फ जाने गरेको थियो । यो नाका पछिल्लो समय भारतीय तीर्थयात्रुबीच कैलाश मानसरोवर यात्राको सहज मार्ग समेत बनेको थियो ।

यसपालि सोही यात्रामा रहेका सयौँ पर्यटक बाढीका कारण सम्पर्कविहीन हुन पुगेका छन् । यो नाका नेपालीको अर्थतन्त्र र रोजगारीको मुख्य केन्द्रसमेत हो ।

होटल, यातायात, कन्टेनर लोडअनलोड, भन्सार एजेन्ट र अन्य साना व्यवसाय मार्फत रसुवागढी नाकाले एकै पटक हजारौं नागरिकलाई रोजगारी सिर्जना गरेको थियो ।

२ अर्ब खर्च भइसकेको सुक्खा बन्दरगाह बग्यो, क्षतिको मूल्यांकन बाँकी

रसुवागढी भन्सारमा गत वर्षको बाढीले अर्बौं रुपैयाँको संरचनामा क्षति गरेको थियो । २०८२ सालको बाढीले नवर्निर्मित भन्सार कार्यालय भवनमा ८१ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति गरेको थियो । सुक्खा बन्दरगाहमा मात्र ९१ करोड २० लाख बराबर क्षति गरेको थियो ।

भन्सार कार्यालय, भन्सार यार्डमा रहेका मालवस्तु, सवारीसाधन, कन्टेनर तथा यन्त्र उपकरणमा ७० करोड ५१ लाख बराबरको क्षति भएको अनुमान थियो । यस पटक यी कुनै पनि संरचना बचेनन् ।

विकास समिति सभापति गजुरेलका अनुसार टिमुरे सुक्खा बन्दरगाह कुल ३ अर्बको परियोजना हो । जसमा २ अर्ब खर्च भइसकेको थियो । अधिकांश संरचना बनिसकेका थिए । अब फिनिसिङको काम थाल्ने अवस्थामा आयोजना थियो । गत वर्षको बाढीले ठूलो क्षति गरेपछि भने यस आयोजनामा थप लगानी भएको थिएन ।

यद्यपि, अब नामनिसाना नरहेका यी संरचनामा राज्यले अर्बौं रुपैयाँ गुमाएको छ । आफ्ना कर्मचारी गुमाएको छ । जहाँ निजी लगानीको क्षतिको लेखाजोखा नै बाँकी छ । जसले गर्दा यो ऐतिहासिक सीमानाका र भन्सार बिन्दु पुन: आफ्नो अस्तित्व शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस