
काठमाडौं, १७ भदौ। देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को सरुवा, बढुवादेखि नयाँ भर्ना प्रक्रियासम्म ठप्प बनेको छ ।
कतिसम्म भने लिखित परीक्षामा नाम निकालेका परीक्षार्थीहरूको तीन महिनादेखि अन्तर्वार्तासमेत रोकिएको छ । अनुसन्धान अधिकृत (इन्स्पेक्टर) दर्जाको नयाँ भर्नाका लागि लोक सेवा आयोगले गत १४ चैतमा परीक्षा लिएको थियो ।
उक्त परीक्षाको नतिजा २४ जेठमै लोकसेवा आयोगले सार्वजनिक गरिसकेको छ । तर, तीन महिना बितिसक्दा समेत अहिलेसम्म अन्तर्वार्ता हुनसकेको छैन ।
लोकसेवा आयोग ऐन, २०६६ मा उल्लेख भएअनुसार लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दा नै अर्को चरणको परीक्षा तथा अन्तर्वार्ताको मिति समेत तोकिनुपर्छ ।
तर, लिखित परीक्षा सार्वजनिक भएको साढे तीन महिना बितिसक्दासमेत अहिलेसम्म अन्तर्वार्ता हुनसकेको छैन ।
अन्तर्वार्ताको सबै काम भने गुप्तचर नै गर्छ । तर, अहिलेसम्म अन्तर्वार्ता हुन नसक्नुको कारण भने गुप्तचरलाई यता–उता (गृह–प्रधानमन्त्री कार्यालय) सार्दाको असर रहेको गुप्तचरका अधिकारीहरू बताउँछन् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गृहमन्त्रालय मातहत रहेको गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो । त्यसपछि सुशीला कार्कीको पालामा भने प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालयमा ल्याइयो ।
अहिले फेरि गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लैजाने प्रक्रिया भइरहेको छ ।
यही प्रक्रियाका कारण अहिले नयाँ भर्नादेखि सरुवा बढुवाका कामहरू पनि रोकिएको गृप्तचरका अधिकारीहरू बताउँछन् । यसको असर भने मुख्यगरी अनुसन्धान अधिकृतमा नाम निकालेहरूलाई परेको छ ।
बेलैमा अन्तर्वार्ता नहुँदा अन्योल भएको र दुई जना त विदेशसमेत गइसकेको एक परीक्षार्थी बताउँछन् ।
