
काठमाडौं, १८ भदौ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेका बेला समितिले बैठक बोलाएको हो ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबारदेखि सुरु भएको देउवा समूहको बैठकमा १५ औं महाधिवेशन आगामी मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ ।
बैठकमा पेस भएको प्रस्तावमा असोज १५ मा वडा अधिवेशन, असोज २० मा पालिका अधिवेशन आयोजना गरिने उल्लेख छ ।
यस्तै असोज २३ मा प्रदेशसभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन गरिने उल्लेख छ ।
उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज १६–१९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ । उक्त कार्यतालिकाअनुसार कांग्रेसले भदौ २४ मा वडा अधिवेशन गर्दैछ ।
