विपद्को घडीमा दलगत स्वार्थ छाडौँ, राष्ट्रका लागि एक बनौँ : विमलेन्द्र निधि

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (४ घण्टा अघि)
  • ३३ पटक पढिएको
विपद्को घडीमा दलगत स्वार्थ छाडौँ, राष्ट्रका लागि एक बनौँ : विमलेन्द्र निधि

काठमाडौं, २२ भदौ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद् त्यागेर एकजुट हुन आह्वान गरेका छन् ।

जनकपुरमा आयोजित लायन्स क्लबको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

नेता निधिले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको बताए ।

नेता निधिले रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको बताए ।

विपद् व्यवस्थापनका तीन चरण–उद्धार, राहत र पुनर्निर्माणको चर्चा गर्दै नेता निधिले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमित स्रोतसाधनका बाबजुद प्रशंसनीय काम गरेको उनले बताए ।

साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले पुर्‍याएको सहयोगप्रति उनले आभार प्रकट गरे ।

उनले भने, ‘हामीले अहिलेसम्म यति ठूलो विपत्ति बेहोरेका थिएनौं । यस्तो बेला जात, वर्ण, लिंग, धर्म र राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ ।’

जलविद्युत् क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेता निधिले हाइड्रोपावर आयोजनाहरूमा कार्यरत कर्मचारीहरूको ज्यान जानु र भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस