भारत, चीन र अमेरिकाको कूटनीतिक चासोमा रवि लामिछाने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (२ घण्टा अघि)
  • ३० पटक पढिएको
भारत, चीन र अमेरिकाको कूटनीतिक चासोमा रवि लामिछाने

काठमाडौं, २२ भदौ। भारत, चीन, अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने देखिएका छन् ।

प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ती देशका राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहको कुराकानीमा पार्टी सभापति लामिछाने बढ्ता सक्रिय देखिएका हुन् ।

आज सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सभापति लामिछानेसँग टेलिफोन वार्ताक्रममा रसुवा बाढीले पुर्‍याएको अथाह क्षतिप्रति दुःख व्यक्त गरे । रास्वपा स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीले नेपाललाई अमेरिकी सहयोग प्राथमिकतापूर्वक निरन्तर रहने आश्वासन दिएका छन् ।

रास्वपा सभापति लामिछानेले अमेरिकी सरकारलाई नेपालको क्षति अनि यसले ल्याएको कठिन घडीप्रति दुःख व्यक्त गरेकामा आभार व्यक्त गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० जेठमा लामिछानेलाई नयाँ दिल्लीमा निमन्त्रणा गरेर भेटवार्ता गरेका थिए । लामिछानेले आफ्नो पार्टीको तर्फबाट प्रतिनिधिमण्डलसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भाजपाका शीर्ष नेताहरूसँग संवाद गरेका थिए ।

लामिछानेको भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण भएको थियो । प्रधानमन्त्री शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अरु कूटनीतिज्ञहरूले एक्लाएक्लै भेट नपाएको सन्दर्भमा लामिछानेसँग उच्च तहको कुराकानी भएको थियो । पछि भने भारतीय तथा चिनियाँ राजदूतले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

अमेरिकास्थित नेपाली दूतावास, अनि परराष्ट्र मन्त्रालयले यसको तयारी गरिरहेको बुझिएको छ । कूटनीति अध्येता तथा पत्रकार सुधीर शर्मा रास्वपा सभापति लामिछानेले पाएको यो महत्वलाई शक्तिराष्ट्रहरूको स्वाभाविक सम्बन्ध राख्ने चरित्रसँग दाँजेर विश्लेषण गर्छन् । लामिछाने सत्तारुढ दलको शक्तिशाली सभापति हुनुका अलावा प्रधानमन्त्री शाहको सहज पहुँचमा नरहने शैली पनि यसको कारक भएको उनको व्याख्या छ ।

‘अमेरिकामात्रै होइन, अरु मूख्य शक्तिराष्ट्रहरूले कुटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापटि छ भन्ने आधारमा कुराकानी गर्नेगरेको देखिन्छ, सभापति लामिछानेसँगका भेट र फोन कुराकानीलाई त्यसकै परिणामका रुपमा लिनुपर्ने हुन्छ,’ पत्रकार शर्माले भने, ‘प्रधानमन्त्री शाह सहजै उपलब्ध हुनुहुन्न । अनि छिटै राष्ट्रसंघ महासभामा जाने कुरा पनि छ । अमेरिकाको निम्तोमा उहाँ नगए पनि त्यो भ्रमण अमेरिकी भूमिमै हुने भएकाले पनि अहिले सभापति लामिछानेसँग कुरा हुनु स्वाभाविक छ ।’

यसअघि फागुनको चुनावमा रास्वपाको विशाल विजयलगत्तै भारतीय प्रधानमन्त्री मोदीले बालेनसँगै लामिछानेसँग पनि कुरा गरेका थिए । अरु कतिपय देशहरूले पनि सभापति लामिछानेलाई महत्व दिएर संवाद अघि बढाइरहेको बुझिएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस