बाढी प्रभावित अधिकांश क्षेत्रमा इन्टरनेट सेवा पुनः सञ्चालनमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (२ घण्टा अघि)
  • ५१ पटक पढिएको
बाढी प्रभावित अधिकांश क्षेत्रमा इन्टरनेट सेवा पुनः सञ्चालनमा

काठमाडौं, २२ भदौ। रसुवा बाढीले अबरुद्ध संचार सेवा अधिकांश ठाउँमा सुरु भएको छ । विशेषगरी, एनसेल, वर्ल्डलिंक लगायतले आफ्नो सेवा पुनः सुचारु गरेका छन् ।

बाढी प्रभावित रसुवा क्षेत्रमा वर्ल्डलिंकको इन्टरनेट सेवा अधिकांश ठाउँमा फेरि सुरु भइसकेको छ । वर्ल्डलिंकका सीईओ केशव नेपालका अनुसार बेत्रावती, धुन्चे र वरपरका मुख्य क्षेत्रहरूमा सेवा पुनःस्थापना भएको छ । ‘सबैतिर रिस्टोर भयो भन्न मिल्छ । त्रिशुली पारीका केही दुईतीन वटा वडामा भने पारी जान कठिनाई भएर केही ढिला भएपनि हामीले अन्यत्र जोडिसकेका छौँ,‘ उनले भने ।

नेपालका अनुसार बाढीका कारण करिब एघार हजार प्रयोगकर्ता प्रभावित थिए । तीमध्ये अधिकांश अहिले अनलाइन आइसकेका छन् । एघार हजारमा आठ हजार प्रयोगकर्ता अनलाइन देखाएको अवस्था छ । त्यसबाहेक बाढीले कतिपयको घर नै लगेको अवस्थामा भने कनेक्सन हुननसकेको हो ।

‘कतिपय घरहरू बगेका छन्, तिनीहरू त अनलाइन आउने कुरा भएन,‘ नेपालले थप भने । अन्य सेवा प्रदायकहरूको अवस्था भने फरक छ । लोकल आईएसपीहरूले पनि सेवा पुनस्थापनाको लागि काम गरिरहेका छन् । यद्यपि, एक जनाको आईएसपीकै परिवारमा दुःखद घटना भएकाले त्यसको काम भने अघि बढेको छैन । ‘यसरी लगभग सेवाहरु सुरु हुन थालेको देखिन्छ । हामीले चाहिँ फाइबर क्रस गर्ने मुख्य कामहरु गरिसकेका छौँ । रसुवा र नुवाकोटलाई जोडिसकेका छौँ,‘ नेपालले भने ।

रसुवा बाढीपछि टुटेको सञ्चार जोड्न वर्ल्डलिंकले आइतबारबाटै काम थालेको थियो । बुधबार बाढी आएपछि केही दिन पर्ख र हेरको अवस्थामा रहेपनि आइतबारबाट निरन्तर काम थालेको थियो । तार जोड्ने क्रममा झुन्डिएर प्राविधिकहरुले काम गरिरहेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ ।

काम सुरु गर्न टोलीले समयमै कदम चालेको थियो । बाढी बुधबार आएको थियो । शनिबारसम्म अलि सुकेपछि आइतबार टोली काठमाडौंबाट हिँड्यो । नेपालले भने, ‘हामी आइतबार यहाँबाट हिँडेका थियौँ । सोमबार बल्ल पुग्यौँ । मंगलबारबाट फाइबर तान्न काम सुरु गरेको हो । अहिलेसम्म लगभग सबै पुनस्थापना सकियो । अब जानै नसकेको त्रिशुली पारी पनि तीन वडामा पनि प्रयास जारी छ ।’

वर्ल्डलिंक को टोलीमा करिब बाह्रचौध जना प्राविधिक थिए । यिनै प्राविधिकले बेत्रावती र धुन्चेमा सेवा सुरु गराए । अहिले पनि बाँकी प्रभावित क्षेत्रमा काम गरिरहेको छ । उक्त क्षेत्रमा करिब एघार हजार प्रयोगकर्ता रहेका वर्ल्डलिंकमा ८ हजार राउटर अनलाइन देखाइसकेको छ ।

०००

एनसेलले पनि भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना ९२ प्रतिशत टावर पुनः सञ्चालनमा ल्याई सेवा प्रवाह गर्दै आएको जनाएको छ । कम्पनीले बाँकी टावरहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक कार्यसमेत गरिरहेको जनाएको छ ।

बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए । बिहीबार कम्पनीले आफ्नो २५औं टावर नुवाकोटको त्रिशुलीमा पुनः सञ्चालनमा ल्याएको थियो ।

रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर भने पूर्ण रूपमा नष्ट भएको छ । रसुवाकै उत्तरगया, तिरुमा रहेको बाँकी एक टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पु‍र्याइ सेवा पुनः सञ्चालन गर्न आवश्यक समन्वय भइरहेको एनसेलले जनाएको छ ।

एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा खोज, उद्धार, राहत र जनचेतना फैलाउने लगायतका कार्यमा सहयोग पुर्‍याउँदै आएको छ । सम्बन्धित निकायले जारी गरेका जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत सम्प्रेषण गर्दै आएको छ ।

०००

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको पनि फाइबर मर्मत तथा पुनःस्थापना कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार बाढीले क्षति पु‍र्याएका क्षेत्रहरूमा फाइबर रिस्टोररेसनको काम तीव्र गतिमा भइरहेको छ र आज साँझसम्म अधिकांश क्षेत्रको काम टुङ्ग्याउने योजना रहेको छ ।

बाढी र पहिरोका कारण रसुवा जिल्लाका क्षेत्रहरूमा असर परेको छ । विशेष गरी रसुवा जिल्लाका टिमुरे, चिलिमे खोला र त्रिशूली लगायतका तीनवटा टावरहरूमा पूर्ण रूपमा क्षति पुगेको छ । यी टावरहरू सञ्चालन नभए पनि अन्य सञ्जालमार्फत कनेक्टिभिटी कायम राखिएको छ ।

‘टावर गएपनि केही चलेकै छैन भन्ने अवस्था होइन । बरु त्यसको गुणस्तर कम छ भन्ने हो । बाँकी फाइबरको हकमा पनि हामी पुनस्थापनाको अन्तिम चरणमा छौँ,‘ लामिछानेले भने, ‘नेपाल टेलिकमले विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानहरूमा जेनेरेटर र सोलार प्यानलको प्रयोग गरी सेवा सुचारु राखिएको छ ।‘

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस