गाउँपालिका कार्यालयमा आगलागी प्रकरण : स्वास्थ्य शाखाका कर्मचारीसहित २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २३, मंगलबार (६ घण्टा अघि)
  • १८ पटक पढिएको
गाउँपालिका कार्यालयमा आगलागी प्रकरण : स्वास्थ्य शाखाका कर्मचारीसहित २ जना पक्राउ

काठमाडौं, २३ भदौ। ताँजाकोट गाउँपालिका-३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालको संयोजकत्वमा गठित छानबिन समितिले यही भदौ ७ गते राति करिब १ बजे भएको आगलागीको घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

उनका अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ताँजाकोट गाउँपालिका-४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी करिब ४५ वर्षीय धनराज ढकाल घटनामा संलग्न देखिएपछि पक्राउ गरिएको सूचना अधिकारी ढकालले बताए ।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम हुम्ला जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेका र आगलागीको वास्तविक कारण तथा घटनामा उनीहरूको संलग्नतासम्बन्धी थप तथ्य अनुसन्धान पूरा भएपछि खुल्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट जिन्सी शाखामा राखिएको काठको र्‍याग चारवटा, सुत्ने खाट एउटा, टेबल एउटा, सोलारको ब्याट्री एकसहित आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्मका कागजातहरु जलेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस