त्रिशूली–३ ‘बी’ मा तीन एस्काभेटर परिचालन, उद्धार तथा खोजी तीव्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २३, मंगलबार (३ घण्टा अघि)
  • ५० पटक पढिएको
त्रिशूली–३ ‘बी’ मा तीन एस्काभेटर परिचालन, उद्धार तथा खोजी तीव्र

काठमाडौं, २३ भदौ। भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकोल लोडर उपकरण पुर्‍याइएको छ ।

भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकोमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि १७८ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि सोमबारसम्म पनि प्रयास जारी छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार यसअघि साना एस्काभेटर प्रयोग गरेर आयोजनाको आवास तथा कार्यालय क्षेत्रमा उत्खनन गरिँदै आएको थियो । ठूला मेसिनरी उपकरण लैजान नसक्दा खोजी कार्यमा अपेक्षित प्रगति हुन सकेको थिएन ।

धेरै दिनको प्रयासपछि आयोजनाको अडिट तथा मुख्य सुरुङ सफा गरेर तीन वटा ठूला एस्काभेटर आयोजनाको कार्यालय तथा आवास रहेको बाढी प्रभावित क्षेत्रमा पुर्‍याउन सम्भव भएको हो । तीमध्ये दुई वटा एस्काभेटर यसअघि माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको खोजी तथा उद्धारमा प्रयोग गरिएका हुन् भने एउटा प्रवद्र्धक कम्पनीले व्यवस्थापन गरेको हो ।

अहिले ठूला एस्काभेटर र ब्याकहोल लोडरमार्फत बाढीले पुरिएका क्षेत्रमा जमेको लेदो, ठूला ढुंगा तथा माटोको थुप्रो हटाएर उत्खनन भइरहेको छ । मंगलबारसम्ममा नदीले पुरेको कार्यालय र आवास क्षेत्रको वास्तविक अवस्था पत्ता लाग्ने अपेक्षा गरिएको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले समेत आयोजनास्थलमा खोजी कार्य जारी रहेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । उनका अनुसार भदौ १० गतेदेखि नै खोजीको प्रयास थालिएको थियो । भदौ १३ गते चिनियाँ टोलीले आयोजनास्थलको रेकी गरे पनि दलदलका कारण खोजीका उपकरण लैजान सकिएको थिएन ।

हाल आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको प्रधानमन्त्री शाहले बताएका छन् । उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङभित्र १.७ किलोमिटरसम्म प्रवेश गरेको थियो । त्यस क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको थियो ।

आयोजनाका ६ वटा आवासीय भवन र एउटा कार्यालय भवन बाढीले पुरिएका छन् । ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको प्रधानमन्त्री शाहले जनाएका छन् ।

खोजी कार्यका लागि थप उपकरण आयोजनास्थलमा लैजाने क्रम जारी रहेको छ । बाढीले ल्याएको लेदो र ठूला ढुंगा–माटोका कारण चुनौतीपूर्ण बनेको खोजी कार्यमा ठूला मेसिनरी उपकरण पुगेपछि पुरिएका संरचना तथा सम्पर्कविहीनहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस