
काठमाडौं, २४ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको २४ भदौलाई कहाली लाग्दो विध्वंस भएको दिनको रूपमा स्मरण गरेका छन् ।
भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो ।’
गत वर्ष भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको थियो । २४ भदौमा सरकारी र निजी सम्पतिमाथि व्यापक तोडफोड र आगजनी भएको थियो ।
यसलाई एमाले अध्यक्ष ओलीले विध्वंस भनेका हुन् ।
दु:खद दिनको एक वर्ष पूरा भएको भन्दै उनले अगाडि भनेका छन्, ‘सबैभन्दा पहिले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा जीवन गुमाउनुहुने नवयुवाहरू र कर्तव्यपालनका क्रममा आपराधिक तत्वहरूको आक्रमणमा मारिनुभएका प्रहरी जवानहरूप्रति नेकपा एमाले र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
अझै उपचारको क्रममा रहेका घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
अगाडि भन्छन्, ‘त्यस कहालीलाग्दो विध्वंसपछि पुर्नउथ्थानको प्रयासमा रहनुभएका व्यवसायी एवं महानुभावहरूमा सुभेच्छा व्यक्त गर्दछु ।’
अध्यक्ष ओलीका अनुसार लोकतन्त्रमा नागरिकले आफ्नो अपेक्षा, असन्तुष्टि र मागहरू शान्तिपूर्ण रुपमा राख्नु स्वभाविक हो । नेपालको संविधानले वाक स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको छ ।
‘तर गत वर्ष नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुरपैठ गरी आपराधिक समूहहरूले योजनाबद्ध रुपमा हिंसा भड्काए’ अध्यक्ष ओलीले भनेका छन्, ‘संसद् भवनमा आक्रमण गर्दै दुरुत्साहन गरे । नवयुवाहरूलाई षडयन्त्रपूर्वक घेरेर संसद् भवन अगाडि लगियो र छ्दम ढंगले कसैले गोली चलायो ।’
यसक्रममा १७ जनाको अमूल्य जीवन त्यहीँ अन्त्य भएको उनले स्मरण गरे ।
शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दु:खद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उदेश्य बेग्लै रहेको भन्दै उनले भने, ‘भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरवार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयहरू र निजी सार्वजनिक सम्पति लगायतमाथि जुन स्तरको तोडफोड, लुटपाट, आगजनी र मानवीय क्षति गरियो । त्यो अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र थिएन ।’
