
काठमाडौं, २४ भदौ। काठमाडौँको ठमेल क्षेत्रमा विभिन्न होटेल तथा गेस्टहाउसहरूमा गैरकानुनी रूपमा बसोबास गरी शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार ठमेल क्षेत्रमा केही विदेशी नागरिकहरू अवैध रूपमा बसोबास गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । सोही क्रममा सोमबार काठमाडौँ महानगरपालिका–२६ ठमेलका विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई होटेल ढाका एक्सप्रेस, होटेल डी भेडा र होटेल अल रहमानलगायतका होटेल/गेस्टहाउसबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महाबुब हसन, ४९ वर्षीय रेपोन महमुद, ३० वर्षीय एमडी-केरामोट अलि खान, ३० वर्षीय सहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय अरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मिया रहेका छन् । उनीहरू हाल ठमेल क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान काठमाडौँ पठाइएको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
