नेपाल भलिबल लिगको क्रेज बढ्दो, कोर्टमा कडा प्रतिस्पर्धा दर्शकमा उत्साह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (५ घण्टा अघि)
  • ४६ पटक पढिएको
नेपाल भलिबल लिगको क्रेज बढ्दो, कोर्टमा कडा प्रतिस्पर्धा दर्शकमा उत्साह

काठमाडौं, २४ भदौ। दिउँसो ३ बज्न नपाउँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहल आसपास चहलपहल बढ्न थाल्छ । हातमा टिकट बोकेर दर्शकहरू कभर्डहलतर्फ पुगिरहेका हुन्छन् ।

४ बजेपछि कोर्टमा बल उड्न थाल्छ । खेलाडीको स्पाइक र ब्लक र सर्भिसबाट अंक आएपछि दर्शकदीर्घाबाट हुटिङ र नाराबाजी सुनिन्छ । खेल सकिएपछि पनि भलिबलको चर्चा कभर्डहल बाहिरसम्मै सुनिन्छ । समर्थकहरू आफ्नो मन परेको खेलाडीसँग सेल्फी र फोटो खिचाउन झुम्मिन्छन् ।

नेपाली भलिबलमा पछिल्लो समय देखिएको यो नयाँ माहोलको केन्द्रमा छ, नेपाल भलिबल लिग (एनभीएल) ।

नेपालको पुरुष भलिबलमा पहिलोपटक आयोजना भइरहेको फ्रेन्चाइज लिगले कोर्टभित्रको रोमाञ्चक प्रतिस्पर्धासँगै कोर्टबाहिर पनि भलिबलको क्रेज बढाएको छ ।

उत्कृष्ट विदेशी खेलाडीको आगमन, नेपाली खेलाडीहरूको जोशिलो प्रदर्शन र दर्शकको उत्साहजनक उपस्थितिले एनभीएल सुरुको दिनदेखि नै चर्चा छ र यसले भलिबलको चर्चालाई अझ व्यापकता बनाएको छ ।

कोही पहिलो पटक भलिबल खेल हेर्न कभर्डहल पुगिरहेका छन् त कोही नेपाली भलिबलको नियमित दर्शकहरू नै छन् । ‘भलिबलमा पनि यो स्तरको क्रेज भनेर मैले सोचेकै थिइँन । निकै रमाइलो माहोल देखेँ,’ ‘एनभीएल हेर्न आएका एक समर्थकहले भने, ‘खेल एकदमै फास्ट हुने। विदेशी खेलाडीको पनि उत्कृष्ट प्रदर्शन हेर्न पाइयो ।’

राष्ट्रिय टोलीको खेल र भलिबलको राष्ट्रिय प्रतियोगिताहरू हेर्दै आएका नेपाली दर्शक अब भने आफ्नो क्षेत्रको फ्रेन्चाइज टोलीको समर्थक बनिसकेका छन् । कोही आफूलाई मन पर्ने खेलाडीको टिमलाई समर्थन गरिरहेका छन् ।

एनभीएलमा देखिएको फरक टोली, फरक खेलाडी र फरक शैलीको भलिबलले दर्शकलाई खेलसँग मज्जैले जोडेको छ ।

केडिया ग्रुपको आयोजनामा पहिलोपटक सञ्चालन भइरहेको एनभीएलमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा आधा धन्दा बढी खेल सकिँदा कुन टोली शीर्ष स्थानमा रहला फाइनलको दाबेदार कुन टोली होला भन्ने उत्सुकता बढ्दै गएको छ । जसले गर्दा कोर्टभित्रको रोमाञ्चकता बढ्दै गएको छ । हरेक खेलमा बढ्दो प्रतिस्पर्धा अनी नतिजा अनुमान गर्न पनिकठिन हुने खालको बन्दै गएको छ ।

१० भदौको रसुवा बाढीपछि पूरा देश नै शोकमा रहेको बेला एनभीएल आयोजना गर्नु आयोजकको लागि पनि चुनौती थियो । तर आयोजकले दु:ख को बेला झन् दुखी हुनुभन्दा यस लिगमार्फत सकारात्मक सन्देश दिने हिसावले १९ भदौ देखि तोकिएको लिग सञ्चालन गर्ने निर्णय गर्‍यो । साथै पहिलो दिनको दुई खेलमा टिकट बिक्रीबाट उठेको सम्पूर्ण रकम बाढीपिडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्‍यो ।

पहिलो दिनको टिकट बिक्रीबाट उठेको ५ लाख ९० हजार ११० रुपैयाँ रकम आयोजकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको नेपाल भलिबल लिगका सिओओ विकास खेतानले जानकारी दिए ।

यस्तै केडिया परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

आयोजक केडिया ग्रुपले दर्शकले लिगलाई राम्रो साथ दिएको र अपेक्षा भन्दा राम्रो भइरहेको बताएको छ ।

अपराजित कर्णाली

६ टोली सहभागी लिगमा लिग चरणका १५ मध्ये १० खेल सकिँदा कर्णाली शिवराजले लगातार तीन खेल जितेको छ र एक्लो अपराजित टोलीको रुपमा रहेको छ ।

कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई ३-१ को सेटमा पराजित गरेको थियो भने खप्तड फाल्कन्सलाई सोझो सेटमा हराएको थियो ।

सगरमाथा स्म्यासर्सविरुद्धको तेस्रो खेलमा भने कर्णालीले पाँचौ सेटमा पुगेर ३-२ को जित हात पारेको थियो ।

कर्णालीलाई पछ्याइरहेको सगरमाथा र अन्नपूर्ण स्पाइकर किंग्सले दुई-दुई खेल जितेका छन् । सगरमाथाले ४ खेल खेलिसक्दा अन्नपूर्णले ३ खेल मात्र खेलेको छ ।

कर्णाली ८ अंकसहित शीर्ष स्थानमा छ भने सगरमाथा ७ अंकसहित दोस्रो स्थानमा छ । अन्नपूर्ण ६ अंक जोडेर तेस्रो स्थानमा छ । यस्तै ३ खेलमा २ खेल जितेको अर्को टोली काठमाडौं रेड्स ५ अंकसहित चौथो स्थानमा छ ।

अर्कोतर्फ खप्तड फाल्कन्सले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । खप्तडले लगातार ३ खेलमा हार बेहोरिसकेको छ । सुरुवाती २ खेलमा पराजित भएको अर्को टोली मधेश वारियर्सले खप्तडलाई नै हराएर पहिलो जित हात पारेको थियो । मधेश ४ अंकसहित पाँचौ स्थानमा छ भने अखप्तड अंकविहिन हुँदै पूछारमा छ ।

कभर्डहलमा दर्शकको क्रेज

एनभीएलमा यस पटक विशेष आकर्षणको रुपमा दर्शकको उपस्थित रहेको छ । हरेक दिन हरेक खेलमा दर्शकको बाक्लो उपस्थिति छ ।

कभर्डहलको क्षमता थोरै भएपनि हरेक खेलमा हलभरी दर्शकको उपस्थित हुन्छ । हलभित्र मात्र होइन हल छिर्न नपाएका दर्शकहरू बाहिर समेत भेटिन्छन् । कतिपय दर्शकहरू टिकट पाउन मुस्किल भएको गुनासो समेत गर्छन् ।

पहिलोपटक नेपालमा आयोजना भइरहेको पुरुष फ्रेन्चाइज भलिबल लिग हेर्न कभर्डहलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । अझ रोचक पक्ष के छ भने यस पटक एनभीएलमा हरेक खेलका लागि फरक टिकटको व्यवस्था गरिएको छ ।

दर्शकहरू एउटा टिकटले एक खेल हेरेपछि अर्को खेलमा लागि फेरि टिकट काट्छन् । दुई खेलको लागि फरक-फरक टिकट काटन समेत दर्शक तयार छन् ।

नेपाली भलिबलमा यसअघि राष्ट्रिय टोलीका खेल वा ठूला प्रतियोगितामा मात्र देखिने दर्शकको उत्साह फ्रेन्चाइज लिगमा पनि देखिन थालेको छ । सबै टोलीको आफ्नै समर्थकहरू पनि छन् । उनीहरू आफ्नो मन परेको टिम र खेलाडीलाई हुटिङ गर्ने जर्सी लगाएर समर्थन गर्ने र हौसला दिने गरिरहेका छन् ।

अझ त्यो भन्दा पनि बढी उनीहरू नेपाली भलिबलकै समर्थक हुन् र हरेक खेलमा समर्थन गरिरहेका छन् ।

यसले एनभीएललाई केवल प्रतियोगिता नभई नेपाली खेलकुदमा मनोरञ्जन र समर्थक संस्कृतिको नयाँ अभ्यासका रूपमा समेत स्थापित गर्न थालेको संकेत गरेको छ ।

एनभीएलको पहिलो संस्करणले नेपाली भलिबललाई नयाँ व्यावसायिक बाटोमा लैजाने प्रयास गरिरहेको छ । कोर्टमा विदेशी र नेपाली खेलाडीबीचको प्रतिस्पर्धा, फ्रेन्चाइज टोलीको पहिचान र कभर्डहलमा बढ्दो दर्शक उपस्थितिले लिगप्रतिको चासो थप बढाएको छ ।

विदेशी खेलाडीले थपेको नयाँ आकर्षण

एनभीएलको अर्को ठूलो विशेषताको रुपमा विदेशी खेलाडी छन् । यसपटक मंगोलियादेखि ब्राजिलसम्मका खेलाडी नेपाली कोर्टमा देखिएका छन् । विगतमा नेपालमा हुने प्रतियोगितामा भारतीय र पाकिस्तानी खेलाडीको बाक्लो उपस्थिति हुने गरेको थियो । तर यस पटक एनभीएलमा भने विभिन्न देशका खेलाडीको सहभागिताले लिगलाई प्रतिस्पर्धात्मक, रोमाञ्चक बनाउनुका साथै थप अन्तर्राष्ट्रिय स्वरुप दिएको छ ।

एनभीएल खेल्न नेपालबाहेक १० देशका १८ विदेशी खेलाडी आएका छन् । जसमा पाकिस्तानबाट सर्वाधिक ५ खेलाडी छन् भने भारत र मंगोलियाबाट ३-३ खेलाडी छन् । बाँकी ७ खेलाडी ७ फरक देशबाट छन् ।

तीमध्ये पनि यसअघि नेपालमा आएर खेलिसकेका ६ खेलाडी मात्र छन् भने १२ विदेशी खेलाडी नेपालमा पहिलोपटक भलिबल खेलिरहेका छन् ।

मंगोलियादेखि रसिया, ब्राजिल, बेनिन र युरोपका विभिन्न देशका खेलाडीहरू पहिलो पटक नेपाल आएर पुरुष भलिबल खेलिरहेका छन् ।

यसअघि नेपालमा खेलिसकेका पाकिस्तानका अइमल खान, अहमद मुस्ताफा, फखर उद्दिन, अडनान खान जस्ता खेलाडीले अहिले पनि लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस बाहेक पहिलो पटक नेपाल आएर खेलिरहेका मंगोलियाका उरानबायर मंखबायर, इंख एर्डेन, पोल्यान्डमा एमिल स्मेटेक, बेनिनका बोस्को डेटे जस्ता खेलाडीले पनि लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

नयाँ विदेशी खेलाडीको आगमनले नेपाली दर्शकलाई फरक शैली र स्तरको भलिबल हेर्ने अवसर दिएको छ । विदेशी खेलाडीको खेल कौशल, शारीरिक क्षमता र कोर्टमा प्रस्तुत गर्ने शैलीले नेपाली खेलाडीका लागि पनि सिकाइको अवसर सिर्जना गरेको छ ।

त्यसैले विदेशी खेलाडीको उपस्थिति लिगको प्रतिस्पर्धा त बढेको छ भने दर्शकलाई खेल हेर्न आकर्षित गर्ने महत्वपूर्ण माध्यम पनि बनेको छ ।

उरानबायर र मुस्ताफाको उत्कृष्ट प्रदर्शन

विदेशी खेलाडीमध्ये अन्नपूर्ण स्पाइकर किंग्सबाट खेलिरहेका मंगोलियाका युवा स्टार उरानबायर मंखबायरले नेपाली दर्शकको विशेष ध्यान खिचेका छन् । पहिलो पटक नेपाल आएर खेलिरहेका २१ वर्षीय आउटसाइड हिटरले कोर्टमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका छन् ।

कोर्टमा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका उरानबायरले अन्नपूर्ण स्पाइकर किंग्सलाई दुई खेलमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । दुवै जितमा उनी प्लेअर अफ द म्याच समेत घोषित भए ।

उनले अन्नपूर्णको लागि हरेक खेलमा जबरजस्त प्रदर्शन गरिरहेका छन् । उनले पावरफुल स्पाइक देखि ब्लक र सर्भिसमा पनि महत्वपूर्ण योगदान दिइरहेका छन् ।

पहिलो खेलमा प्लेअर अफ द म्याच बनेपछि नेपाली समर्थकको समर्थनबाट उत्साहित हुँदै उनले भनेका थिए, ‘म एकदमै खुशी छु । पहिलो जितमा । हामीलाई समर्थन गर्नुभएकोमा सबैलाई धन्यवाद ।’

उनले त्यतिबेला नेपाली समर्थकलाई ‘धन्यवाद, सबैलाई माया’ भन्दै आभार व्यक्त गरेका थिए । नेपाली समर्थकको मायाबाट प्रभावित उनले ‘मलाई नेपाल मन पर्छ’ भनेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

अन्नपूर्णको दोस्रो जितमा पनि उरानबायरको प्रदर्शन उत्कृष्ट रह्यो । मधेश वारियर्सविरुद्धको खेलमा प्लेअर अफ द म्याच घोषित भएपछि उनले पुनः नेपाली समर्थकलाई धन्यवाद दिए ।

उरानबायरले ३ खेलमा गरी ८४ अंक स्कोर गरिसकेका छन् । उनले कर्णाली शिवराजविरुद्धको पहिलो खेलमा २९ अंक स्कोर गरेका थिए । त्यसपछि काठमाडौंविरुद्धको खेलमा पनि २९ अंक जोडेका उनले मधेश वारियर्सविरुद्ध जित हात पार्दा २६ अंक जोडे ।

नेपालमा पहिलोपटक खेलिरहेका यी युवा मंगोलियन खेलाडीको सनसनी प्रदर्शनले उनलाई प्रतियोगिताकै आकर्षणमध्ये एक बनाएको छ । उनका हरेक स्पाइक, ब्लक र निर्णायक अंकमा कभर्डहलको दर्शकदीर्घाबाट आउने आवाजले पनि उनको बढ्दो लोकप्रियता देखाइरहेको छ ।

यस्तै नेपाली दर्शक र कोर्टसँग परिचित पाकिस्तानका स्पाइकर अहमेद मुस्ताफाले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मुस्ताफाले ३ खेलमा गरी १०२ अंक जोडिसकेका छन् । धेरै अंक जोड्नेमा मुस्ताफा र उरानबायर नै अघि छन् ।

पहिलो पटक नेपाल आएर मधे वारियर्सबाट खेलिरहेका जिबिन सेबास्टियनले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो पटक नेपालमा खेलिरहेका उराबानयर, जिबिन, बोस्को डेटे जस्ता खेलाडीको खेल हेर्न नेपाली दर्शक उत्साहित देखिएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस