बृन्दावन–८ मा १४ करोडभन्दा बढीका विकास आयोजनाको काम भएको वडाध्यक्ष साहले गरे पुष्टी

बृन्दावन–८ मा १४ करोडभन्दा बढीका विकास आयोजनाको काम भएको वडाध्यक्ष साहले गरे पुष्टी

रमेश कुमार यादब
असार ०७, रौतहट
बृन्दावन नगरपालिका–८ का वडाध्यक्ष रबिन्द्र प्रसाद साहले आफ्नो वडामा नगर, वडा तथा प्रदेश सरकारको बजेटमार्फत हालसम्म १४ करोड रुपैयाँभन्दा बढीको विकास निर्माणका काम सम्पन्न तथा सञ्चालनमा रहेको पुष्टि गर्नुभएको छ । बुधबार आफ्नै निजी निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै वडाध्यक्ष साहले आफू निर्वाचित भएदेखि वडावासीको हकहित, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार वडाको नियमित सिलिङ बजेटबाहेक नगर प्रमुख बिनोद प्रसाद कुर्मीको पहलमा नगरस्तरीय बजेट तथा प्रदेश सरकारबाट समेत विभिन्न योजना ल्याएर विकास निर्माणका काम अघि बढाइएको हो । बृन्दावन–८ अन्तर्गत अकडपाथर, बरगजवा र बहुअरी गरी तीन वटा मुख्य टोल रहेका छन् ।

वडामा करिब २६ सय मतदाता रहेको उल्लेख गर्दै वडाध्यक्ष साहले २०७९ सालमा आफूलाई निर्वाचित गराउने वडावासीले दिएको विश्वास र अपेक्षाअनुसार काम गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडावासीले जुन हौसला, विश्वास र आशाका साथ मलाई निर्वाचित गराउनुभयो, त्यसलाई सम्मान गर्दै वडाको विकासमा निरन्तर लागिरहेको छु। वडाको सिलिङ बजेट मात्र नभई नगरस्तरीय तथा प्रदेश सरकारको बजेटसमेत ल्याएर जनताको शिर झुक्न नदिने गरी विकासका काम अघि बढाएका छौँ ।”
अकडपाथरमा सडकदेखि खानेपानी सम्मका योजना
वडाध्यक्ष साहका अनुसार अकडपाथर क्षेत्रमा प्रदेश सरकारको ३० लाख रुपैयाँको लागतमा दिलिप पटेलको घरसम्म विभिन्न सडकमा ढलान तथा शंकर भगवानको मन्दिर निर्माण गरिएको छ । त्यस्तै नगर प्रमुख कुर्मीको नगरस्तरीय बजेटबाट ३० लाख रुपैयाँको लागतमा विभिन्न सडक ढलान गरिएको उहाँले बताउनुभयो ।
वडाको बजेटबाट १६ लाख रुपैयाँमा रामसिंहको घरदेखि मुसहर बस्ती हुँदै सडक ढलान तथा थप १४ लाख रुपैयाँमा मुसहर बस्तीबाट नहरसम्म सडक ढलान गरिएको उहाँको भनाइ छ। नहरदेखि खोडलीसम्म सडक निर्माणका लागि ६ लाख रुपैयाँ खर्च गरिएको तथा नगरस्तरीय बजेटबाट १२ लाख रुपैयाँमा मठमा कम्पाउण्ड वाल निर्माण र माटो पुर्ने काम गरिएको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी मठको सौन्दर्यीकरणका लागि १० लाख रुपैयाँ, मठसम्म पुग्न नहर पार गर्ने पुल निर्माणमा ४ लाख रुपैयाँ खर्च गरिएको वडाध्यक्ष साहले बताउनुभयो।
अकडपाथरमै नगरस्तरीय बजेटबाट ६० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको र गत भदौ २३ गते भएको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त
संरचनाको पुनर्निर्माणमा ५ लाख रुपैयाँ खर्च गरिएको उहाँको भनाइ छ । वडाध्यक्ष साहका अनुसार वडाको सबैभन्दा ठूलो योजनामध्ये ५ करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको शुद्ध खानेपानी आयोजना समेत अन्तिम चरणमा पुगेको छ । यसअन्तर्गत पानी ट्यांकी तथा खानेपानी पूर्वाधार निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो।

त्यस्तै नगरस्तरीय बजेटबाट १६ लाख रुपैयाँमा छठ घाटमा माटो पुर्ने, बाउण्ड्री वाल निर्माण लगायतका काम गरिएको छ । छठ घाट निर्माण तथा धार्मिक पूर्वाधारका विभिन्न काममा ३५ लाख रुपैयाँ खर्च भएको उहाँको भनाइ छ। छठ घाट क्षेत्रमा नदी नियन्त्रणका लागि ३० लाख रुपैयाँको बोल्डर लगाउने काम तथा प्रदेश सरकारको १५ लाख रुपैयाँमा जाली, बोल्डरलगायत नदी नियन्त्रणको कामसमेत सम्पन्न गरिएको उहाँले बताउनुभयो। सोही क्षेत्रमा १० लाख रुपैयाँको लागतमा ट्रस्ट भवन निर्माण गरिएको जानकारी दिइएको छ।

बरगजवामा सडक र प्रतीक्षालय निर्माण
वडाध्यक्ष साहले बरगजवा गाउँमा पनि करिब ३० लाख रुपैयाँ बराबरका विकास निर्माणका काम गरिएको बताउनुभयो। वडा स्तरीय बजेटबाट ३ लाख रुपैयाँमा प्रतीक्षालय निर्माण गरिएको तथा ७ लाख रुपैयाँमा अशोक महतोको घरदेखि नदीसम्म सडक ढलान गरिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै १० लाख रुपैयाँमा छठु महतोको घरसम्म सडक ढलान तथा नगरस्तरीय बजेटबाट थप १० लाख रुपैयाँमा विभिन्न जीर्ण सडकको स्तरोन्नति गरिएको उहाँको भनाइ छ।
बहुअरीमा सडक, मन्दिर र धर्मशाला निर्माणलाई प्राथमिकता
बहुअरी क्षेत्रमा समेत ठूलो मात्रामा विकासका काम अघि बढाइएको वडाध्यक्ष साहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। उहाँका अनुसार नगर प्रमुख कुर्मीको पहलमा नगरस्तरीय बजेटबाट ४० लाख रुपैयाँको लागतमा पिपरिया घाटदेखि रामबाबु कानुको मन्दिरसम्म जीर्ण सडकमा माटो हाल्ने काम गरिएको छ। प्रदेश सरकारको १६ लाख रुपैयाँमा सडक स्तरोन्नति तथा ३० लाख रुपैयाँमा सफुरको घरदेखि सडक ढलान गरिएको उहाँले बताउनुभयो।
बहुअरी पोखरी डिलस्थित रामजानकी मठमा प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा हनुमान मन्दिर निर्माण गरिएको छ। त्यस्तै १६ लाख रुपैयाँमा दुर्गा मन्दिर निर्माण, नगरस्तरीय बजेटबाट २५ लाख रुपैयाँमा मठको भवन निर्माण तथा थप ८ लाख रुपैयाँमा कम्पाउण्ड वाल निर्माण गरिएको वडाध्यक्ष साहले
जानकारी दिनुभयो।

रामजानकी मठदेखि नारद साहको घरसम्म ३० लाख रुपैयाँको लागतमा सडक ढलान गरिएको तथा बहुअरी क्षेत्रमा विभिन्न सडक निर्माणका लागि थप बजेट परिचालन गरिएको उहाँको भनाइ छ। बन्हु रामको घरदेखि आश नारायणको घरसम्म १७ लाख रुपैयाँ तथा वडा स्तरीय बजेटबाट २२ लाख रुपैयाँमा सडक ढलान र नाला निर्माण गरिएको बताउँदै उहाँले प्रदेश सरकारको २२ लाख रुपैयाँमा दलित धर्मशाला निर्माण र नगरस्तरीय बजेटबाट थप १० लाख रुपैयाँमा अर्को धर्मशाला निर्माण गरिएको जानकारी दिनुभयो।

कृषि र सिँचाइमा पनि लगानी
वडाध्यक्ष साहले सडक तथा धार्मिक पूर्वाधारसँगै कृषकलाई लक्षित गरी सिँचाइ सुविधा विस्तारलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार कृषि प्रयोजनका लागि नगरस्तरीय बजेटबाट १० लाख रुपैयाँमा बोरिङ जडान गरिएको छ भने १५ लाख रुपैयाँको लागतमा डीप बोरिङ निर्माण गरिएको छ। यसबाट वडाका किसानलाई खेतीपातीका लागि आवश्यक सिँचाइ सुविधा उपलब्ध हुने र मौसमअनुसार अन्नबाली उत्पादन गर्न सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। त्यस्तै कृषिमा विद्युतीकरणका लागि वडाभरि १० लाख रुपैयाँको लागतमा विद्युत् पोल जडान गरिएको जानकारी उहाँले दिनुभयो।

विभिन्न टोलमा सडक र नाला निर्माण
बहुअरी क्षेत्रमा सरेम साहको पसलदेखि तरहरी नदीसम्म १२ लाख रुपैयाँमा ग्राभेल गरिएको, रामाकान्त साहको घरदेखि भुलानी साहको घरसम्म २१ लाख रुपैयाँमा सडक ढलान तथा नाला निर्माण गरिएको उहाँले बताउनुभयो। त्यसैगरी वडा स्तरीय बजेटबाट चन्देश्वरको घरदेखि उपेन्द्र यादवको घरसम्म १० लाख रुपैयाँमा सडक ढलान, हरिन्दर साहको घरदेखि विनोद रामको घरसम्म ८ लाख रुपैयाँमा सडक तथा नाला निर्माण गरिएको उहाँको भनाइ छ। नगरस्तरीय बजेटबाट ब्रह्मबाबा मन्दिरमा १७ लाख रुपैयाँको लागतमा कम्पाउण्ड वाल तथा सौन्दर्यीकरण गरिएको छ।

रामकिशुनको घरदेखि चुल्हाई चौरसियाको घरसम्म ८ लाख रुपैयाँमा सडक तथा नाला निर्माण र विक्रम महाराको घरदेखि रामकिशुन पण्डितको घरसम्म १० लाख रुपैयाँमा सडक तथा नाला निर्माण गरिएको वडाध्यक्ष साहले जानकारी दिनुभयो। उहाँका अनुसार लंगडा महादेवदेखि नहरसम्म तथा विभिन्न टोलका अत्यावश्यक सडकहरूमा समेत नगरस्तरीय बजेटबाट सडक ढलान गरिएको छ। कृत महतोको घरदेखि रामवशिष्टको घरसम्म, झगरु हजाराको घरदेखि प्रेम साहको घरसम्म, छोटेलालको घरदेखि पनिलाल साहको घरसम्म, धर्मेन्द्र महाराको घरदेखि बैद्यनाथको घरसम्म तथा महिन्द्र साहको घरदेखि महादेव साहको घरसम्मलगायतका सडकमा ढलान गरिएको उहाँले बताउनुभयो।
धार्मिक तथा सामुदायिक संरचनामा पनि लगानी

नगरस्तरीय बजेटबाट ९ लाख रुपैयाँको लागतमा कलवार धर्मशालाको स्तरोन्नति तथा सौन्दर्यीकरण गरिएको वडाध्यक्ष साहले बताउनुभयो। त्यस्तै पिपरिया छठ घाट निर्माणका लागि १ करोड रुपैयाँ तथा बहुअरी पोखरी डिलमा रहेको रामजानकी मठको सौन्दर्यीकरणका लागि प्रदेश सरकारको रेडबुकमा १ करोड रुपैयाँको योजना समावेश हुन सफल भएको उहाँले जानकारी दिनुभयो। वडाध्यक्ष साहले रामजानकी मठ तथा छठ घाटलगायतका धार्मिक तथा सांस्कृतिक स्थलको विकासले वडाको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

डुमरिया–तरहारीदेखि भूषहासम्म मुख्य सडक निर्माण हुने

वडाध्यक्ष साहले डुमरिया–तरहारी नदीदेखि बहुअरी हुँदै भूषहासम्म जाने मुख्य सडक निर्माणका लागि माथिल्लो निकायबाट बजेट विनियोजन भइसकेको जानकारी पनि दिनुभयो। उक्त सडक निर्माण भएपछि स्थानीयवासीको आवागमन थप सहज हुने उहाँको भनाइ छ।
निर्वाचित भएपछि वडाको मुहार फेरिएको दाबी

पत्रकार सम्मेलनमा वडाध्यक्ष साहले आफू निर्वाचित हुनुअघि वडाको अवस्था निकै कमजोर रहेको दाबी गर्नुभयो। सडक, स्वास्थ्य सेवा, वडा कार्यालय तथा अन्य आधारभूत पूर्वाधारको अभाव रहेको अवस्थामा आफू निर्वाचित भएपछि क्रमशः ती समस्या समाधान गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो। “निर्वाचित हुनुअघि यहाँ आवतजावत गर्न बाटोघाटोको समस्या थियो। स्वास्थ्य कार्यालय, वडा कार्यालयलगायतका आधारभूत संरचनाको अभाव थियो। अहिले धेरै क्षेत्रमा पूर्वाधार निर्माण भएका छन् र वडाको मुहार नै परिवर्तन भएको छ,” उहाँले भन्नुभयो।

वडाध्यक्ष साहले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, कृषि, सडक, धार्मिक तथा सामुदायिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै आगामी दिनमा पनि वडावासीको आवश्यकता र मागअनुसार विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफूलाई निर्वाचित गराउने वडावासीप्रति धन्यवाद व्यक्त गर्दै वडाको समग्र विकास र जनताको हितका लागि आफ्नो कार्यकालभरि निरन्तर सक्रिय रहने बताउनुभयो।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस