
काठमाडौं ,१२ असोज। मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ।
हेलिकप्टरबाट सम्भावित क्षेत्रमा खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोज तथा उद्धारमा जुटिरहेको छ।
हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको भनिए पनि यकिन संख्या अझै पुष्टि हुन सकेको छैन। मनाङ प्रशासनले घटनाको विस्तृत विवरण संकलन गर्दै सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने काम भइरहेको जनाएको छ।
आइतबार उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुवै शव काठमाडौं ल्याइएको छ। शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित उद्धार टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।
