
काठमाडौँ,१४ असोज। बुर्का नलगाई गीत गाएको अभियोगमा इरानकी चर्चित गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोरा हान्ने सजाय त्यहाँको पुनरावेदन अदालतले सदर गरेको छ।
अहमदीका वकिलहरूका अनुसार माथिल्लो अदालतले कुनै नयाँ सुनुवाइ नगरी जिल्ला अदालतको अघिल्लो फैसलालाई निरन्तरता दिएको हो। २९ वर्षीया गायिका अहमदीले डिसेम्बर २०२४ मा आफ्नो युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) गरिएको एक कन्सर्टमा स्लिभलेस पहिरन लगाएर बुर्का नलगाइृ गीत गाएकी थिइन्।
उक्त भिडियो भाइरल भई लाखौँ पटक हेरिएपछि इरानी न्यायपालिकाले कानूनी र सांस्कृतिक नियमहरूको उल्लङ्घन गरेको आरोपमा उनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको थियो। इरानको कानूनले महिलाहरूलाई सार्वजनिक स्थानमा गायन प्रस्तुति दिन प्रतिबन्ध लगाएको छ भने बुर्का तथा अमर्यादित नहुने पोशाक अनिवार्य गरेको छ।
