
काठमाडौँ ,२८ असोज। साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको आक्रमणमा परी घाइते भएका दुई जना नेपाली सकुशल रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
घाइते दुई जना नेपालीको उपचार चलिरहेको छ । उनीहरू खतराभन्दा बाहिर छन् । चाँडै नै अस्पतालबाट डिस्चार्ज हुने दूतावासका एक अधिकारीले बताए । आक्रमणको क्रममा एक जना नेपाली पक्राउ परेका थिए । उनलाई पनि त्यहाँको सरकारले छाडेको बताइएको छ । आक्रमणको भिडियो खिचेको भनी ती नेपालीलाई पक्राउ गरेको थियो । उनलाई पनि छाडिसकेको छ ।
हुथी विद्रोहीले गरेको सो आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएका थिए । हालको परिस्थितिमा उक्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखी नेपाली दूतावासले अनुगमनलाई तीव्रता दिएको छ ।
दूतावासले आवश्यक समन्वयको काम गरिरहेको परराष्ट्र मन्त्रालयले पनि जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार यसका लागि नेपाली राजदूतावास, रियाद साउदीका सम्बन्धित निकायहरूसँग सम्पर्क र समन्वयमा रहेको छ ।
सम्बन्धित स्थानीय निकायहरूबाट जारी सूचना र सुरक्षा सम्बन्धी मार्गदर्शनहरूको पूरा अवलम्बन गर्न र कुनै समस्या परेमा तुरुन्त नेपाली राजदूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
