पाकिस्तानी एजेन्टलाई ओटीपी पठाउने दुई युवक रक्सौलमा पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १२, बुधबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
पाकिस्तानी एजेन्टलाई ओटीपी पठाउने दुई युवक रक्सौलमा पक्राउ

भारत ,११ कात्तिक।  भारतीय मोबाइल नम्बरमा ह्वाट्सएप खाता खोल्न आवश्यक ओटीपी पाकिस्तानी एजेन्टलाई उपलब्ध गराएर रकम लिएको आरोपमा भारत बिहारको नेपाल भारत सीमावर्ती क्षेत्र रक्सौलबाट दुई युवक पक्राउ परेका छन् ।

आन्ध्र प्रदेशको विजयवाडामा दर्ता भएको अपराध संख्या ०१–२०२६ को अनुसन्धानका क्रममा विजयवाडा प्रहरी र रक्सौल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएका हुन् । प्रहरीका अनुसार पक्राउ परेका युवकहरूले भारतीय मोबाइल नम्बरमा ह्वाट्सएप खाता खोल्न आवश्यक ओटीपी पाकिस्तानी एजेन्टलाई पठाउने गरेको र त्यसबापत मोटो रकम लिने गरेको आरोप छ ।

उक्त ओटीपी प्रयोग गरेर बनाइएका ह्वाट्सएप खाताहरू भारत विरोधी गतिविधि तथा कथित जासुसी कार्यमा प्रयोग भएको हुन सक्ने आशंकामा प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्दका अनुसार विजयवाडा प्रहरीको टोली अनुसन्धानका सिलसिलामा रक्सौल प्रहरी कार्यालय पुगेको थियो । टोलीले रक्सौल बजारका केही व्यक्तिले भारतीय मोबाइल नम्बरमा ह्वाट्सएप खाता खोल्न प्रयोग हुने ओटीपी पाकिस्तानी एजेन्टलाई उपलब्ध गराएको सूचना स्थानीय प्रहरीलाई दिएका थिए ।

सूचनाका आधारमा दुवै प्रहरी टोलीले संयुक्त छापामारी अभियान सञ्चालन गरेका थिए । रक्सौल थाना क्षेत्रका विभिन्न स्थानमा छापा मारेर दुई युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रहरीले जनाए । उनीहरूको साथबाट दुईवटा मोबाइल फोन समेत बरामद गरिएको छ ।

मोबाइलबाट भुक्तानी सम्बन्धी प्रमाण भेटिएको प्रहरीको दाबी

एसडीपीओ मनीष आनन्दका अनुसार बरामद मोबाइल फोनको जाँचका क्रममा पाकिस्तानी एजेन्टलाई कथित रूपमा उपलब्ध गराइएको विवरण तथा त्यसबापत रकम भुक्तानी भएको हुन सक्ने विषयसँग सम्बन्धित प्रमाण भेटिएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको संख्या, रकमको कारोबार र कथित गतिविधिको वास्तविक दायराबारे अनुसन्धान गरिरहेको जनाए । साथै, यस घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा पनि छानबिन भइरहेको छ ।

पक्राउ पर्नेमा आदित्य पाण्डेय र राजा कुमार

रक्सौल प्रहरी श्रोतका अनुसार पक्राउ पर्नेमा २३ वर्षीय आदित्य पाण्डेय र २४ वर्षीय राजा कुमार रहेका छन् ।
आदित्य पाण्डेय पूर्वी चम्पारण जिल्लाको रक्सौल स्थित नागा रोड, वडा नम्बर ११ निवासी हुन् । उनका पिता बलिराम पाण्डेय रहेको प्रहरीले जनाए ।

त्यस्तै, राजा कुमार मधुबनी जिल्लाको हरलाखी निवासी हुन् । उनका पिता सुरेश साह रहेको र हाल उनी पूर्वी चम्पारण जिल्लाको रक्सौल थाना क्षेत्रअन्तर्गत नोनियाडीहमा बस्दै आएको छ ।

छापामारी टोलीमा थानाध्यक्ष रमेश कुमार महतो, विकास कुमार पासवान, रवि कुमार, दीपक कुमार गिरी, प्रेम कुमार, अजय कुमार लगायत प्रहरीकर्मी सहभागी थिए । घटनामा विजयवाडा प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको छ । प्रहरीले आरोपको पुष्टि अनुसन्धान र न्यायिक प्रक्रियाबाट हुने स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस