सत्ता जोगाउन अन्तिम प्रयासमा मुख्यमन्त्री यादव, जस्तोसुकै परिणाम स्वीकार्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
  • ६६ पटक पढिएको
सत्ता जोगाउन अन्तिम प्रयासमा मुख्यमन्त्री यादव, जस्तोसुकै परिणाम स्वीकार्ने

रौतहट,१३ कात्तिक।  अल्पमतमा परेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले विश्वासको मतका पक्षमा वा विपक्षमा जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने स्पष्ट पारेका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय अझै बाँकी रहेकाले विभिन्न राजनीतिक दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको जानकारी दिए। विश्वासको मत लिने समयसम्म राजनीतिक परिस्थिति आफ्नो पक्षमा आउन सक्ने आशा व्यक्त गर्दै उनले अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बताए।

‘संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनैपर्छ। त्यो बेलासम्म केही त होला। राम्रो परिणाम आउला, नभए नराम्रो आउला। जबसम्म सास छ, तबसम्म आश गर्नुपर्‍यो नि,’ उनले भने।

नेकपा एमालेले सरकार छाड्नुको कारणबारे सोधिएको प्रश्नमा मुख्यमन्त्री यादवले १५ बुँदे सहमति कार्यान्वयन नभएको विषयलाई आधार बनाइएको बताए। यद्यपि, उक्त सहमतिका कतिपय बुँदा कार्यान्वयन भइसकेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको उनको दाबी छ।

‘उहाँहरू मसँग असहमति भएरभन्दा पनि १५ बुँदे सहमति कार्यान्वयन भएन भनेर बाहिरिनुभयो। तर, त्यसमध्ये कतिपय सहमति कार्यान्वयन भएका छन्, केही कार्यान्वयन हुने क्रममा थिए। सबै कुरा भइसकेको पनि थिएन। किन एक्कासि छाड्नुभयो, मलाई पनि थाहा भएन,’ उनले भने।

प्रदेशमा नयाँ गठबन्धन बन्ने चर्चाबारे मुख्यमन्त्री यादवले राजनीतिक दलहरूबीच मुद्दा, उद्देश्य र स्वार्थ मिल्दा गठबन्धन बन्ने तथा फेरिने प्रक्रियालाई सामान्य रूपमा लिएको बताए। सरकारमा सहभागी हुने विषयमा दलहरूबीच आ–आफ्ना सर्त र सहमति हुने उल्लेख गर्दै उनले राजनीतिक परिस्थितिअनुसार गठबन्धन निर्माण हुने धारणा राखे।

‘सबैलाई सरकारमै जानुछ। सरकारमा जाने हो भने त्यहाँ आ–आफ्ना सर्त र सहमति हुन्छन्। कुन बेला कसको मिसन, आशय र मुद्दा मिल्छ, त्यसैअनुसार गठबन्धन गर्ने हो। गठबन्धन बन्छ, फेरिन्छ। मैले यसलाई सामान्य रूपमा लिएको छु,’ उनले भने।

मुख्यमन्त्री यादवले प्रदेश सरकारको भविष्यबारे आफ्नो पार्टीको केन्द्रीय नेतृत्वले समेत चासो राखिरहेको र आफू केन्द्रीय नेतृत्वसँग नियमित सम्पर्कमा रहेको जानकारी दिए।

विश्वासको मत प्राप्त हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उनले आफू आशावादी रहेको र त्यसका लागि विभिन्न तहमा प्रयास भइरहेको बताए। ‘आश पनि छ, प्रयास जारी राखेकै छु। हेरौँ, के हुन्छ,’ उनले भने।

गत असोज ३० गते नेकपा एमाले तीनदलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको हो। यद्यपि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यसैगरी, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।

प्रदेशसभाको वर्तमान अंकगणितलाई हेर्दा मुख्यमन्त्री यादवका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण देखिएको छ। अन्य राजनीतिक दलसँग भइरहेको छलफलले कस्तो परिणाम ल्याउँछ र मधेस प्रदेशको सत्ता समीकरण कुन दिशामा अघि बढ्छ भन्ने विषय मुख्यमन्त्रीले विश्वासको मत लिने समयसम्म थप स्पष्ट हुने देखिन्छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस