
मोरङ,१३ कात्तिक। मोरङको रतुवामाई नगरपालिकामा लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्कामा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन् । प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् ।
बिहीबार राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा आठ राउन्ड गोली प्रहार गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौँ र विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा निगरानी तथा चेकजाँच गरिरहेको थियो ।
सोही क्रममा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ सहित दुई वटा मोटरसाइकलमा आएका व्यक्तिहरूलाई प्रहरीले रोक्न खोज्दा उनीहरू भाग्न थालेका थिए । नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण तथा गोली प्रहारको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन जवाफी कारबाही गरिएको डिएसपी मिश्रले बताए ।
प्रहरीका अनुसार चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी कुल आठ राउन्ड गोली प्रहार गरिएको थियो । प्रहरीको गोली लागेर भारतको बिहारस्थित अररिया जिल्लाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवैको घुँडामुनि गोली लागेको छ ।
उनीहरूलाई सुरुमा नगर अस्पताल झुर्कियामा सामान्य उपचार गरिएपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ । घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनामा भारतका दुई नागरिकसँगै मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली तथा दुई वटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको आशङ्का गरिएको छ । उनीहरूको कारोबारको सञ्जाल, लागूऔषधको स्रोत तथा अन्य संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले जानकारी दिए ।
