चुनावी टिकटबारे भ्रामक प्रचार भएको रास्वपा चन्द्रपुरको दाबी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
चुनावी टिकटबारे भ्रामक प्रचार भएको रास्वपा चन्द्रपुरको दाबी

रौतहट,१३ कात्तिक।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर समितिले पार्टीको उम्मेदवारी तथा टिकट आफ्नो पहुँच र आर्थिक प्रभावका आधारमा निश्चित गराइदिने भन्दै फैलाइएका हल्लाप्रति आपत्ति जनाएको छ ।

नगर समितिका सभापति अरुण लामाले सार्वजनिक अपिल जारी गर्दै पार्टीको केन्द्रीय नेतृत्वसँग निकट सम्बन्ध रहेको, सभापति तथा सांसदसँग पहुँच भएकाले टिकट निश्चित गराउन सक्ने जस्ता दाबी भ्रमपूर्ण र निराधार रहेको बताएका छन् ।

पार्टीको उम्मेदवारी कुनै व्यक्तिको भनसुन, व्यक्तिगत सम्बन्ध वा आर्थिक प्रभावका आधारमा नभई विधि, विधान र निर्धारित प्रक्रियाअनुसार तय हुने लामाको भनाइ छ । उम्मेदवार छनोट गर्दा पार्टीको नीति, नियम, निर्धारित क्लस्टर तथा ‘क्यान्डिडेट क्लब’ को प्रक्रियालाई आधार बनाइने उनले स्पष्ट पारेका छन् ।

नगर समितिले टिकट दिलाइदिने आश्वासन दिएर आर्थिक वा अन्य प्रलोभन देखाउने व्यक्तिहरूबाट सचेत रहन पार्टीका शुभचिन्तक, कार्यकर्ता तथा नगरवासीलाई आग्रह गरेको छ । त्यस्ता गतिविधि भएको पाइएमा प्रमाणसहित नगर समितिलाई जानकारी गराउन पनि अपिल गरिएको छ ।

पार्टी कुनै व्यक्तिविशेषको प्रभावमा नभई संस्थागत निर्णय र लोकतान्त्रिक पद्धतिअनुसार सञ्चालन हुने उल्लेख गर्दै समितिले अपुष्ट हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

‘व्यक्तिगत हाबी होइन, विधि र विधानको थिति’ भन्ने सन्देशसहित जारी गरिएको अपिलमा पार्टीको आधिकारिक निर्णय र विधिसम्मत प्रक्रियामाथि विश्वास राख्नसमेत अनुरोध गरिएको छ ।

चन्द्रपुर नगर समितिले जारी गरेको यो अपिललाई उम्मेदवारीको विषयलाई लिएर पार्टीभित्र तथा बाहिर फैलिएका दाबीप्रति आफ्नो धारणा स्पष्ट पार्ने प्रयासका रूपमा हेरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस