
रौतहट,१३ कात्तिक। लागूऔषध दुर्व्यसन, ट्राफिक नियम उल्लङ्घन र बढ्दो साइबर अपराधका जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रौतहटमा विद्यार्थी तथा स्थानीयवासीलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
फतुवा विजयपुर नगरपालिका–११ स्थित भैसहीको सहिद बजार चोक र हिमालिबास माध्यमिक विद्यालयमा बिहीवार समुदाय–प्रहरी साझेदारी तथा जेन्जी नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा फतुवा विजयपुर नगर सभापति हबिब अफ्रिदी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सामाजिक अभियन्ता शैलेन्द्र कुमार यादव , कुन्दन कुशवाहा तथा उनको टोली, इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर राधेश कुमार खत्री र प्रहरी चौकी दुधिअवाका प्रहरी सहायक निरीक्षक नरेश यादवसहित प्रहरी टोलीको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी प्रहरी अधिकारी तथा अभियन्ताहरूले विद्यार्थीलाई लागूऔषधको सेवन र कारोबारबाट टाढा रहन, सडकमा यात्रा गर्दा ट्राफिक नियमको अनिवार्य पालना गर्न तथा सामाजिक सञ्जाल र इन्टरनेट प्रयोग गर्दा साइबर अपराधबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए।
विशेषगरी युवापुस्तामा बढ्दो लागूऔषध दुर्व्यसन र प्रविधिको दुरुपयोगले निम्त्याउन सक्ने सामाजिक तथा कानुनी समस्याबारे जानकारी दिँदै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र सचेत नागरिक बन्न आग्रह गरिएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा कानुनी ज्ञान, सामाजिक उत्तरदायित्व र सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै प्रहरी र समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘सचेत विद्यार्थी, सुरक्षित समाज’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रममा लागूऔषधमुक्त र साइबर अपराधमुक्त समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
